Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


माओवादी केन्द्र अहिलेको यो परिवर्तनलाई पुर्ण र अन्तिम ठान्दैन

एक्सन खबर
भदौ, ५, २०७९


माओवादी केन्द्र अहिलेको यो परिवर्तनलाई पुर्ण र अन्तिम ठान्दैन

नारायणकाजी श्रेष्ठ

हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) को यस अघि नै निर्णय भैसकेको अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष बाहेक महासचिव लगायत बाँकी पदाधिकारीहरूले हिजो पूर्णता पाएको छ । आठौं राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानको ब्यवस्था र पछिल्लो केन्द्रीय समितिको बैठकको निर्देशन अनुसार पदाधिकारीहरू चयन क्रममा जिम्मेवारी प्राप्त गर्नुभएका सबै कमरेडहरूलाई बधाई तथा सफल कार्यसम्पादनको निम्ति शुभकामना ।

तर यस अवसरमा स्पष्ट हुनु पर्ने कुरा के हो भने हाम्रो सफलता वा असफलता हाम्रा सामु चुनौतिपूर्ण रुपमा उपस्थित निम्न कार्यभारहरू पुरा गर्न सक्नेछौ वा सक्नेछैनौँ भन्ने कुराले निर्धारित गर्नेछ ।

एक, राष्ट्रिय एकता सुदृढ गर्नु र नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षा गर्नु र सबल पार्नु । नेपालको भूराजनीतिक संवेदनशीलताको उपेक्षा, स्वतन्त्र एवं असंलग्न परराष्ट्रनीति बाट विचलन, शक्ति राष्ट्रहरूको संलग्नता एवं भूमिकामा बढोत्तरी सहित राष्ट्रिय स्वाधीनतामा संकट तथा जोखिमको खतराबाट मुलुकलाई बचाउनु छ ।

कहालिलाग्दो ब्यापार घाटाको निरन्तरता, चरम भ्रष्टाचार र नवउदारवादको पक्षपोषणबाट आर्थिक सङ्कटको समाधान र न्यायपूर्ण विकास असम्भव छ भन्ने कुरा स्पष्ट छ । हामीले यसलाई बदल्नै पर्नेछ ।

दुई, नेपालमा ठुलो बलिदानीपूर्ण सङ्घर्षद्वारा स्थापित संघीय गणतन्त्रात्मक समाजवाद उन्मुख समावेशी लोकतन्त्रका उपलब्धीहरूको रक्षा गर्नु, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नु, बिस्तार एवं विकास गर्नु । तर परम्परागत संसदीय गणतन्त्र भन्दा उन्नत तथा नयाँ जनवाद भन्दा भिन्न हाम्राे मौलिकतामा स्थापित आजको नयाँ प्रकारको लोकतन्त्रको रक्षा एवं विकास गर्नुपर्नेमा व्यवहारमा प्रतिगमनलाई बेहोर्दै परम्परागत संसदीय गणतन्त्रको अभ्यासको दिशामा अघि बढिरहेको नकारात्मक राजनीतिक अवस्थालाई फेरेर अग्रगामी दिशामा लैजानु आवश्यक छ ।

तिन, राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा बिस्तारित गरेर सामाजिक न्याय सहितको समृद्धि हासिल गर्नु र जनजिविकाका आधारभुत समस्याहरू समाधान गर्दै समाजवादको आधार तयार पार्नु पर्दछ । तर, राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनको अपेक्षा पुरा हुन नसकेको र तात्कालिक आर्थिक संकट एवं जोखिम  समाधान भैनसकेको अवस्था छ । वैदेशिक सहयोग, भन्सार राजस्व र बिप्रेषणबाट देश चलाउने प्रवृत्ति, पुँजीगत खर्च कार्यान्वयनको दयनीय अवस्था एवं कहालिलाग्दो ब्यापार घाटाको निरन्तरता, चरम भ्रष्टाचार र नवउदारवादको पक्षपोषणबाट आर्थिक सङ्कटको समाधान र न्यायपूर्ण विकास असम्भव छ भन्ने कुरा स्पष्ट छ । हामीले यसलाई बदल्नै पर्नेछ ।

चार, समाजवाद निर्माणको रणनीतिक लक्ष्य हासिल गर्नु , समाजवादी क्रान्ति सम्पन्न गर्नु । हाम्रो समाजवाद एकातिर सार तत्वमा पुँजीवाद नै रहेको प्रजातान्त्रिक समाजवाद भन्दा बिल्कुल भिन्न रहनेछ भने अर्कोतिर गतकालमा अभ्यास गरिएको "सोभियत मोडेल"को समाजवादका कमजोरीहरू सच्याइएको आजको २१ औं शताव्दी अनुरुपको नयाँ मोडेलको उन्नत समाजवाद हुनेछ । यो वैज्ञानिक समाजवादको मूल मान्यतामा आधारित हुनेछ ।

उपरोक्त कार्यभार पुरा गर्नको निम्ति आमरूपमा नेपाली राजनीतिमा देखा परेको विकृति एवं भ्रष्टीकरण, आदर्श, विचार, सिद्धान्त, देश तथा जनताको हित केन्द्रित लक्ष्य, मूल्य, नैतिकताको डरलाग्दो ह्रासको बेगलाई रोक्न र फेर्न जरुरी छ । राजनीति सफा गर्ने आन्दोलनात्मक अभियान बिना यो सम्भव छैन । नेपाली देशभक्तिपूर्ण आन्दोलनको अग्रणी शक्ति र नेपाली समाजको क्रान्तिकारी रूपान्तरणको नेतृत्वदायी शक्ति हुनुको नाताले नेपाली कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टीको मुख्य समस्याका रुपमा रहेको वैचारिक सांस्कृतिक समस्याको समाधान गर्नु आजको आवश्यकता हो । अर्थात वैचारिक सांस्कृतिक रूपान्तरणको ठुलो अभियानद्वारा पार्टी र कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी रूपान्तरण र पुनर्गठन यतिबेलाको ऐतिहासिक आवश्यकता हो ।

इतिहासले सुम्पिएको यो जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात गर्दै यसलाई पुरा गर्ने दिशामा दृढतापूर्वक अघि बढ्नु हाम्रो कर्तव्य हो । तात्कालिक रुपमा आसन्न चुनावी मोर्चाको सङ्घर्षलाई त्यस अन्तर्गतकै कामको रुपमा बुझिनु पर्दछ । त्यसैले अध्यक्ष कमरेडको नेतृत्वमा रहेको वर्तमान पदाधिकारी टिमले यस ऐतिहासिक कार्यभार पुरा गर्ने दिशामा ठोस गुणात्मक कार्य गर्ने जिम्मेवारी प्राप्त नेतृत्व टिमको रुपमा आफुलाई बुझ्नु पर्दछ र त्यसै अनुसार एकता एवं समर्पणका साथ क्रियाशील हुनुपर्दछ । अन्यथा हाम्रो पद को कुनै तात्विक अर्थ रहने छैन ।

आजको परिवर्तन र उपलब्धीको मुख्य बाहक शक्ति हाम्रो पार्टी हो, जुन कुरामा हामी गर्व गर्न सक्छौँ

आफ्नो तर्फबाट यस निम्ति प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण पदाधिकारी कमरेडहरूलाई समेत हार्दिक एवं गम्भिर अपील गर्दछु । हाम्रो सफलता, असफलताको कसी यही हुनेछ ।

उपरोक्त चार कार्यभारहरू पुरा गर्न र त्यसका लागि हाम्रो पार्टी र समग्र कम्युनिष्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन गर्न अघि बढ्दा सर्वप्रथम हाम्रो सकारात्मक पक्षहरूको बारेमा स्पष्ट हुँदै त्यसलाई आत्मसात गर्नु जरुरी छ ।

एक, हाम्रो पार्टी अहिलेकै अवस्थामा पनि नेपालका प्रमुख राजनीतिक पार्टीहरू मध्ये सबभन्दा राम्रो परिवर्तनकारी पार्टी हो । दुई, सामाजिक न्याय सहितको समृद्धिको तात्कालिक कार्यनीतिक कार्यभार र वैज्ञानिक समाजवादको मूल्य मान्यतामा आधारित समाजवाद निर्माणको रणनीतिक कार्यभार पुरा गर्न सक्षम क्रान्तिकारी पार्टीका रुपमा रूपान्तरण एवं विकासको सम्भावना पनि हाम्रो पार्टीमा नै छ । निम्न तथ्यहरूले हाम्रो पार्टीमा नै त्यो सम्भावनाको आधार रहेको स्पष्ट गर्दछ ।

एक, आजको परिवर्तन र उपलब्धीको मुख्य बाहक शक्ति हाम्रो पार्टी हो, जुन कुरामा हामी गर्व गर्न सक्छौँ । दुई, ऐतिहासिक परिवर्तनलाई संस्थागत गरिएको वर्तमान संविधान माथि प्रतिगामी प्रहार हुँदा प्रतिगामी कदमको विरुद्ध ब्यापक सङ्घर्षको अगुवाइ गरेर तात्कालिक प्रतिगमनलाई असफल पार्न मुख्य भूमिका खेल्ने शक्ति पनि हाम्रो पार्टी नै हो । तिन, हाम्रो पार्टी आफ्नो मूल नेतृत्वदायी भूमिकामा हासिल गरिएको परिवर्तनलाई ऐतिहासिक महत्वको परिवर्तन ठान्दछ र यसका उपलब्धीहरूको रक्षाको पक्षमा पनि दृढ छ ।

तर, हाम्रो पार्टी अहिलेको यो परिवर्तनलाई पुर्ण र अन्तिम ठान्दैन, बरु समाजवादी व्यवस्थाको स्थापना गर्न दृढ छ । चार, हाम्रो पार्टी नै त्यो पार्टी हो जसले आफ्नो कमजोरी र रोगको स्पष्ट पहिचान एवम् सार्वजनिक स्विकारोक्तिका साथ त्यसलाई सच्याउने वा उपचार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

तसर्थ, हाम्रो पार्टीको रूपान्तरणको सम्भावना छ किनकि यो अहंभावनाको आधार हामी भित्र छ । तर, त्यसको शर्त हो, हामी आफै आफ्नो निष्कर्ष प्रति इमानदार भएर रूपान्तरित हुन तयार हुनुपर्छ । सही नयाँ निष्कर्ष तर, पुरानै यथास्थितिवादी व्यवहारको निरन्तरता, आजको हाम्रो मुख्य समस्या र चुनौती हो । यसको सकारात्मक समाधान गर्ने साहस हामीले देखाउनै पर्छ । पार्टीले हामीलाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको यस अवसरमा आउनुहोस् एकताबद्ध भएर पूर्ण समर्पणका साथ यस दिशामा अघि बढ्ने संकल्प गरौँ

श्रेष्ठ नेकपा (माओवादी केन्द्र) का बरिष्ठ उपाध्यक्ष हुन् ।















0 प्रतिकृया