केएमसीको एकैदिन २ स्थानमा स्वास्थ्य शिविर, १५९३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
एक्सन खबर
ललितपुर, ५ भदौ । काठमाडौं मेडिकल कलेजले एकै दिन दुई स्थानमा निःशुल्क स्वास्थ्य परीक्षण गर्दा १५९३ जना बिरामी लाभान्वित भएका छन् । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी)ले आइतबार ललितपुर उपमहानगरपालिका वडा नं. ३ र बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ मा निःशुल्क स्वास्थ्य शिविर गरेको थियो ।
सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले ललितपुर ३ सेन्टजेभियर्स स्कुलमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा १७५ जनाको इजिसी, १८७ जनाको ल्याब परीक्षण तथा १९४ जनाको युएसजी गरिएको केएमसीका जनरल मेजेनर नारायण दाहालले बताए । उक्त स्वास्थ्य शिविरमा आएका मध्ये २१ जनाको दाँत खोलिएको थियो भने, २७ जनाको स्वास्थ्य जाँचका क्रममा थप उपचार गर्नुपर्ने देखिएकोले उनीहरुलाई ओ.टी. रेफर गरिएको छ ।
स्वास्थ्य शिविरमा डा. प्रविण घिमिरे र प्रज्वल न्यौपानेले केएमसीले गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर पुर्याएर सर्वसाधारणमा स्वास्थ्य सचेतना फैलाएको चर्चा गरे । उनीहरुले यस्ता कार्यक्रमले समाजमा सचेतना फैलाउने भएकाले सबैले गर्नुपर्ने औल्याए ।
यस्तै, केएमसीले आजै बुढानिलकण्ठ नगरपालिका वडा नं. ११मा गिरिजा प्रसाद कोइराला फाउण्डेशनसँगको सहकार्यमा कपन यज्ञमती स्कुलमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा ८७२ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।
उक्त शिविरमा १२२ जनाको इसिजी, १७२ जनाको ल्याब परीक्षण र १८२ जनाको युएसजी गरिएको केएमसीका जनरल मेनेजर दाहालले जानकारी दिए । स्वास्थ्य शिविरमा आएका ३१ जनाको दाँत खोलिँदा ३४ जनालाई ओ.टी. रेफर गरिएको दाहालले जानकारी दिएका छन् ।
केएमसीले डेढ वर्षयता लगातार गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर लैजाँदा आम सर्वसाधारणमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएको तथा स्वास्थ्य सचेतना समेत बृद्धि भएको केएमसीका कार्यकारी अध्यक्ष तथा समाजसेवी डा. सुनिल शर्माले बताएका छन् । केएमसीको यो अभियानलाई अझ तिब्रताका साथ अगाडी बढाउने डा. शर्माको योजना रहेको छ ।
0 प्रतिकृया