Follow us:


Follow us

६ वैशाख २०८३, आइतवार
६ वैशाख २०८३, आइतवार


कांग्रेसको स्वस्थ नागरिक समुन्नत समाजः ठूला डाक्टर घरमै आउँदा दङ्ग

एक्सन खबर
भदौ, २६, २०७९


कांग्रेसको स्वस्थ नागरिक समुन्नत समाजः ठूला डाक्टर घरमै आउँदा दङ्ग

धरान, २६ भदौ । नेपाली कांग्रेसले निःशुल्क न्यूरो स्वास्थ्य शिविरको आयोजना गरेर नागरिकलाई स्वस्थ्य बनाउने र समाजलाई समुन्नत बनाउने अभियान सुरु गरेको छ । कांग्रेस सुनसरी–१ नं. क्षेत्रीय कार्यसमिति र सम्बन्धित वडा कार्यसमितिले वी.पी. कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान, धरानको स्ट्रोक टिम (पक्षघात समुह) र अमर पोलिक्लिनिक, धरान १८ को सहयोगमा मासिक रुपमा अभियान सुरु गरेको हो ।

समुन्नत समाज निर्माणका लागि सबै नागरिक अनिवार्य स्वस्थ हुनुपर्ने भएकाले अभियानको रुपमा वडा वडामा स्वास्थ्य शिविरको आयोजना गर्दै आएको क्षेत्रीय सभापति एवम् अभियन्ता सुजेन्द्र तामाङले बताए । उनले यस अभियानले पार्टीको जनताको साथमा कांग्रेस कार्यक्रमलाई समेत टेवा पुग्न गएको बताउँदै यस अभियानबाट पार्टी र जनताको सम्बन्ध अझ गाढा हुनुका साथै गरिव विपन्न नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन सकिएको बताए ।

सुनसरी क्षेत्र नं. १ अन्तर्गत रहेको धरान उपमहानगरपालिका, बराह नगरपालिका र रामधुनी नगरपालिकामा यो अभियान सञ्चालन गरिने सभापति तामाङले बताए । वी.पी. प्रतिष्ठानका न्यूरो फिजिसियन डा. भुपेन्द्र शाह, न्यूरो सर्जन डा. आलोक दाहाल, न्यूरो साइकियाटिक्स डा. संजीवकुमार मिश्र, जेनेरल फिजिसियन डा. अजय यादव लगायतका विशेषज्ञ टिमको सहभागिता शिविरमा रहने गरेको समेत उनले बताए ।

अभियानको अभियन्ता तथा नपाली कांग्रेस धरान ३ का सभापति उमेश श्रेष्ठले धरानको वडा नं. ३, ८ र १५ मा गरिएको शिविरमा हजार बढी विरामीहरुले स्वास्थ्य लाभ लिएको बताए । शिविरमा आएका अति गरिव तथा विपन्न नागरिकहरुलाई टेष्ट इन्भिेष्टिगेसनमा समेत सहुलियत र निःशूल्कको व्यवस्था गरिएको उनले बताए । उनले निःशुल्क अल्ट्रासाउण्ड र आँखा शिविरका लागि पनि पहल भईरहेको बताए ।

विशेष गरेर न्यूरो सम्बन्धि स्वास्थ्य शिविर भएकाले मेरुदण्ड, नशा तथा मांशपेशी सम्बन्धि समस्या भएका तथा पक्षघातका विरामीहरु बढी आउने गरेको भएतापनि टाउको दुख्ने, डर लाग्ने, निराश हुने, छारे रोग, शरीर झम्झमाउने, शरीर काँप्ने, कुराहरु विर्सिने, सुगर, प्रेसर लगायतका विरामीहरु पनि उल्लेख्य मात्रा आउने गरेको वीपी प्रतिष्ठानका न्युरो फिजिशियन डा. भुपेन्द्र शाहले बताए । डा. शाहले शिविरवाट स्वास्थ्य जाँचको अतिरिक्त पक्षघात र न्युरो सम्बन्धि समस्याको सम्पूर्ण उपचार वीपी प्रतिष्ठानमा उपलब्ध रहेकोबारे जानकारी गराउन र पक्षघातका बारेमा जनचेतना जगाउन समेत सकिएको बताए ।  

शिविरमा स्वस्थ्य जाँच गर्नुभन्दा पहिला पक्षघात के हो ? पक्षघात कसरी हुन्छ ? पक्षघात भएको कसरी थाहा पाउने ? पक्षघात हुन नदिन के गुर्नपर्छ ? पक्षघातको उपचार कसरी गरिन्छ ? भन्ने बारेमा दश मिनेट सरल भाषामा भन्ने गरिन्छ । रोग र समस्याका बारेमा जनचेतना जगाउँदै स्वस्थ्य सेवा र शिक्षा एकैसाथ प्रवाह हुँदा प्रभावकारी भएको स्वास्थ्य लाभ लिन आएका धरान १५ का ज्येष्ठ नागरिक बलबहादुर लिम्वुले बताए् । त्यसैगरी धरान ८ का सानुमाया विक र धरान ३ का मनोज साहले ठुला डाक्टरलाई घर आँगनमै देखाउन पाउँदा खुशी लागेको बताए ।

नेपाली कांग्रेसका प्रदेश नं. १ का महामन्त्री उमेश थापाले मानिस स्वस्थ नरहे धन सम्पतिको कुनै अर्थ नहुने भन्दै शिविरले नगरवासीहरुलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेलेको बताए ।  कांग्रेसका प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठले अहिले पनि कयौं जनताहरु समयमा सर्वसुलभ तरिकाले स्वास्थ्य सेवा पाउनबाट वञ्चित रहेकाले शिविरका माध्यमवाट जनताले राहत पाएको बताउँदै शिविरको निरन्तरता हुनुपर्ने बताए ।



















0 प्रतिकृया