‘आगामी निर्वाचनले देशको भविष्य फैसला गर्ने’ केपी शर्मा ओली
एक्सन खबर
विराटनगर २५, भदाै । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले देशको भाग्य र भविष्यको फैसला गर्ने भएकाले यो निर्वाचन निकै महत्वपूर्ण रहेको बताएका छन् । नेपाल बुद्धिजीवी परिषद् प्रदेश–१ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको अधोगति रोक्न नसके मुलुक बर्बादीतिर जाने चिन्ता व्यक्त गरे ।
सत्ता गठबन्धनका नेताहरू जसरी पनि गठबन्धन जोगाउने र जे गरे पनि हुन्छ भन्ने ढङ्गले हिँडेको बताउँदै अध्यक्ष ओलीले भने ‘गठबन्धन सरकारका कारण देशमा महंगी बढेको छ, विश्वविद्यालयका गुरुलाई बाटो छेकेर कुटपीट गरी घाइते बनाउने काम भएको छ । गृहमन्त्रीको संरक्षणमा त्रिविमा तालाबन्दी लगायत गतिविधि भएका छन् । अर्थमन्त्रीको संरक्षणमा अर्थतन्त्र ध्वस्त भइरहेको छ । कानुनमन्त्रीको संरक्षणमा कानुनीराज ध्वस्त बनाइदिने काम भइरहेको छ । यी तमाम क्रियाकलाप रोक्नका लागि मंसिर ४ को निर्वाचनले सही फैसला लिनुपर्ने छ ।’
उनले मंसिर ४ को निर्वाचनबाट शान्ति सुुव्यवस्था र स्थिरता कायम गर्ने एमालेको सरकार गठन हुने स्थिति बन्नुपर्छ समेत भने । अध्यक्ष ओलीले हिजो विरोध गर्नेहरू आज देश बचाउनु पर्यो भन्दै आफू कहाँ आउन थालेको समेत जिकीर गरे ।
प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने ?
यस्तै उनले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा द्वन्द्व निम्त्याउने उद्देश्यले नागरिकता विधेयक ल्याएकाे पनि बताए । गठबन्धन सरकारले नागरिकता विधेयक द्वन्द्व निम्त्याउनका लागि ल्याएको दावी गरे ।
अध्यक्ष ओलीले अहिले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने हो, त्यो मात्र व्यवस्था गरेर संसदमा ल्याउँदा तीनदिनमा पास गर्न सकिने स्पष्ट गरे । गठबन्धन सरकारले जनतामा भ्रम फिजाउने र गलत ढङ्गले भोटको राजनीति गर्न खोजेको उनकाे भनाइ छ ।
नागरिकता विधेयक राष्ट्रपतिले स्वीकृत नगरे राजीनामा दिनुपर्छ भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति अध्यक्ष ओलीले भने–‘प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ? वाहियात कुरा । राष्ट्रपतिले विचारार्थ पठाएको प्रस्तावलाई सुन्दा पनि सुन्दैनौं, हेर्दा पनि हेर्दैनौं भनेर पास गरेर उदण्डता देखाउने ?’
उनले सरकारलाई अहिलेको विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनेछन् भन्ने दुईलाईन संशोधन ल्याउन सुझाव दिए । त्यतिमात्र संशोधन ल्याए तीन दिनमा पास हुन्छ भन्दै अध्यक्ष ओलीले गठबन्धनले नागरिकता दिन नभई तनाब बढाउन मात्र चाहेको जिकीर गरे ।
0 प्रतिकृया