Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले दिए तीजकाे शुभकामना

एक्सन खबर
भदौ, १४, २०७९


राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले दिए तीजकाे शुभकामना

काठमाडौं, १४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीजले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यसपर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास ब्यक्त गरेकी छिन् ।

नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीजलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिनेमा जोड गरेकी छिन् ।

‘महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु’, आफ्नो शुभकामना सन्देशमा राष्ट्रपतिले भनेकी छन् ।

‘चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङगतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आह्वान गर्दछु’ राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा उल्लेख छ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायू तथा प्रगतिको शुभकामना दिएका छन् ।

तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास प्रधानमन्त्रीको विश्वास छ । यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भको रूपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी कामना प्रधानमन्त्री देउवाको छ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजले सामूहिक रुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास लिएका छन् ।

‘नेपाली महिलाहरुले यस पर्वलाई स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवन यापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्नु हुने छ भन्ने अपेक्षा गरेको छु,’ सभामुखको शुभकामना सन्देशमा भनिएको छ ।  

तीजलाई आफ्ना विषय अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर बनाउनेतर्फ ध्यान दिन सभामुख सापकोटाको आग्रहसमेत छ । तीज नेपाली महिलाहरुले मनाउने मौलिक पर्व भएको उल्लेख गर्दै सभामुख सापकोटाले यस पर्वमा परिवारका सदस्यहरुको पुनर्मिलन, साथी सँगीसँग भेटघाट गरेर आफ्ना सुख दु:ख साटासाट गर्ने, विभिन्न परिकार बनाएर खाने, गीत–संगीतका माध्यमबाट मनोरञ्जन लिने बिषयलाई बिज्ञानसँग जोडनु पर्ने उनको तर्क छ ।
 













0 प्रतिकृया