सिट बाँडफाँडका यी आधारबारे छलफल
एक्सन खबर
काठमाडौं, २६ साउन । सत्ता गठबन्धनको कार्यदलले आगामी निर्वाचनमा सिट
बाँडफाँटका विभिन्न आधारबारे छलफल गरेको छ । बिहीबार प्रधानमन्त्रीको
सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा
निर्वाचनमा गठबन्धन दलहरुकाबीचमा सिट बाँडफाँटका विभिन्न आधारहरुबारे छलफल
भएको थियो ।
बैठकमा सहभागी एक नेताका अनुसार सिट बाँडफाँटका
विभिन्न आधारबारे छलफल भएको छ । गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा
प्रत्यक्षतर्फको सिट, उक्त निर्वाचनमा समानुपातिकतर्फ पाएको मत, वैशाखमा
सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम, शीर्ष नेताहरुको सुनिश्चितता
लगायतलाई आधार मानेर छलफल गरेको उनको भनाइ छ ।
आज छलफल भएका
आधारहरुका बारेमा आ-आफ्नो दलमा छलफल गरेर पुन: बैठक बस्ने सहमति भएको उनको
भनाइ छ । बैठक साउन ३० गते बस्ने जनाइएको छ । समितिलाई साउन
मसान्तभित्र तालमेलको मोडालिटी तय गर्ने जिम्मेवारी दिइएको छ । गठबन्धनका
शीर्ष नेताको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा
कांग्रेसबाट गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर
कार्की छन् भने नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र देव गुरुङ छन् ।
यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता
समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय
जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा रहेका छन् । कार्यदलको
संयोजकमा कांग्रेस नेता सिटौला रहेका छन् ।
0 प्रतिकृया