Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


नयाँ लगानीसँगै स्वास्थ्य सेवामा फड्को मार्दै नेपाल मेडिकल कलेज

एक्सन खबर
साउन, २३, २०७९


नयाँ लगानीसँगै स्वास्थ्य सेवामा फड्को मार्दै नेपाल मेडिकल कलेज

काठमाडौं, २२ साउन । कुनैबेला नेपाल मेडिकल कलेज भन्ने वित्तिकै गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाका लागि परिचित थियो । बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल, डा. सच्चेकुमार पहारी, डा. अञ्जनी कुमार शर्मा, इन्जिनियर दीपक भट्टराई लगायत राजधानीमा नाम कहलिएका विशेषज्ञ डाक्टरहरुको जमातले खोलेको कलेजले राजधानीबासीको मन जितेपनि संस्थापकहरुले कलेजलाई चलाउन सकेका थिएनन् ।

स्थापनाकालदेखि २ दशकसम्म स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा उत्कृष्ठता हासिल गरेतापनि लगानीकर्ताहरु र विशेषज्ञ चिकित्सकहरु अन्यत्र व्यस्त हुँदा कोरोना महामारीको बेला त आर्थिक कठिनाईका कारण कलेज बन्द हुने अवस्थामै पुगेको थियो ।

२ दशक भन्दाबढी नेपालको मेडिकल शिक्षा र स्वास्थ्य सेवामा लागेका पुराना सञ्चालकहरुले कि आफैं थप लगानी गर्ने, कि नयाँ लगानीकर्ता भित्र्याउने विषयमा गहन छलफल गर्दा थप लगानी गरेर झण्झट नव्यहोर्ने बरु नयाँ लगानीकर्ता जुटाउने निर्णयमा पुगेपछि विरगञ्जमा नेशनल मेडिकल कलेज सञ्चालन गर्दै आइरहेका व्यवसायी बसरुद्धिन अन्सारीलाई बहुमत शेयर विक्री गर्ने निर्णय गरे । र, साेहि अनुरूप कलेजकाे बहुमत शेयर अन्सारीलाई दिइयाे ।

विरगञ्जकाे नेशनल मेडिकल कलेजको कूशल व्यवस्थापन गर्दै आइरहेका अनुभवी अन्सारीले नेपाल मेडिकल कलेजलाई पुनः नयाँ शिराबाट उठाउने हिम्मत गर्दै नयाँ जोस, जाँगर साथ बहुमत शेयर खरिद गरी कलेजमा प्रवेश गरेपछि भने कलेजको शिक्षा र स्वास्थ्य सेवामा दिनप्रतिदिन सुधारका कामहरु भइरहेका छन् ।

अन्सारीको नयाँ लगानी र कुशल व्यवस्थापनमा परेपछि अहिले कलेजमा भौतिक निर्माणका कामहरु धमाधम भइरहेका छन् । अलपत्र परेको कलेजको डेण्टल भवन बन्न थालेको छ । फार्मेसीको स्तरोन्नति तथा इमरजेन्सी अगाडी फार्मेसी भवन बन्ने क्रममा छ । कलेजको प्रशासनिक भवन स्तरोन्नति गरिएको छ । जनरल ओपिडी, वार्ड लगायतका क्षेत्रमा भत्किएका, विग्रिएका संरचनाहरु पनि बनाइएका छन् ।

स्वास्थ्य सेवामा उल्लेखनीय सुधार

नेपाल मेडिकल कलेजले एक वर्षयता स्वास्थ्य सेवातर्फ उल्लेखनीय सुधारका कामहरु गरेको अस्पताल इन्चार्ज दिलिप साहको भनाई छ । अन्सारीको प्रवेश अघिसम्म अस्पतालको इमरजेन्सीमा आएका सामान्य बिरामीसम्म रेफर गरिन्थे । अन्सारीले कलेजको कमाण्ड संहालेसँगै सुरुमा इमरजेन्सीलाई व्यवस्थित गर्ने काम गरे ।

इमरजेन्सीमा २४ सै घण्टा विशेषज्ञको व्यवस्थापन गरे । ‘इमरजेन्सी कुनैपनि अस्पतालको मुटु हो । मुटु नै कमजोर भएपछि शरीरले कसरी काम गथ्र्यो र ? अहिले इमरजेन्सीमा २४ सै घण्टा विशेषज्ञको व्यवस्था गरेका छौं । ट्रियाज पद्दति छ । डाक्टर, नर्स तथा कर्मचारीहरु आफ्नो काम र कर्तव्यप्रति इमान्दार बन्नुभएको छ ।’ अस्पताल इन्चार्ज साह भन्छन् ।

कलेजले विशेषज्ञ जनशक्ति थप गर्दै सेवाहरु पनि विस्तार गरेको छ । एक वर्ष यता कार्डियोलोजीमा २ वटा वार्ड विस्तार गरिएको छ । ३० वेडको आइसियूलाई बढाएर ५२ वेड पुर्याइएको छ । १० वेडको एनआइसियूमा १५ वेड थप गरेर २५ वेड बनाईएको छ ।

मिर्गौलाका बिरामीहरुको डायलाइसिसका लागि कलेजले विशेष सेवा दिइरहेको छ । २० वेडको डायलाइसिसलाई थप गरेर ४० बनाइएको छ । अहिले नेपाल मेडिकल कलेजमा दैनिक सयको हाराहारीमा मिर्गौला डायलाइसिस गर्ने क्षमता छ । यसका अलावा सुपरस्पेशियालिटी सेवाहरु थप गर्ने योजना बनाइरहेको छ । कार्डियोलोजी, अंकोलोजी, न्यूरोलोजी जस्ता गहन विषयमा सेवाहरु थप गर्न गइरहेको छ ।  

कलेजले ल्याव सेवालाई समेत विस्तार गरेको छ । ल्यावमा रहेका परीक्षण उपकरणहरुको स्तरोन्नती गरिएको छ । ओपिडी सेवामा दक्ष तथा अनुभवी विशेषज्ञ डाक्टरहरु रहेका छन् । ‘हामीले स्वास्थ्य सेवालाई सुधार गर्दै दक्ष जनशक्तिहरुको व्यवस्थापन गरेसँगै बिरामीहरुको चाप बढेको छ । बिरामीहरुले विस्वास गर्न थालेका छन्, रेफर दर धेरै कम भइसक्यो ।’ कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले भने । सिटी स्क्यान, एमआरआई जस्ता अत्याधुनिक स्वास्थ्य उपकरणहरु भित्र्याउने गृहकार्य भइरहेको छ ।

नेपाल मेडिकल कलेजले सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नीति अपनाएको छ । अस्पतालमा उपचार गर्दा पैसाकै अभावमा उपचारबाट बञ्चित हुनु पर्दैन । कतिपय कमजोर आर्थिक अवस्था भएका, उपचारको पहुँचमा पुग्न नसकेका नागरिकलाई अस्पतालले निःशुल्क सेवा दिएको छ । स्थानीय निकायसँगै स्थानीय जनताका चाहना, अपेक्षा अनुरुपको सेवा दिन कलेज प्रतिबद्ध छ । सामाजिक उत्तरदायित्व अन्तरगत सामुदायिक सेवाहरु बढाइएको छ ।

त्यसो त चिकित्सा शिक्षामा तीन दशकदेखि सक्रिय रहेका अन्सारी नेपालमा स्वास्थ्य र शिक्षा सर्वसुलभ हुनुपर्छ । स्वास्थ्य र शिक्षा सरकारको दायित्वमा पर्नुपर्छ भन्ने मान्यता राख्छन् । यद्यपि, मुलुकको आर्थिक, सामाजिक धरातललाई हेर्दा राज्यले मात्रै सबै कुरा गर्न सक्ने अवस्था छैन । त्यही भएर उनले राज्यले निजी क्षेत्रसँग सहकार्य गरेर गए शिक्षा र स्वास्थ्यमा धेरै गर्न सकिने बताउँदै आएका छन् ।

प्रशासनिक क्षेत्रमा व्यापक सुधार

बसरुद्धिन अन्सारीले नेपाल मेडिकल कलेज खरिद गरेसँगै त्यहाँको प्रशासनिक क्षेत्रमा व्यापक सुधारका काम भएका छन् । शिक्षक, कर्मचारीलाई नियमित तलव सुविधा, पदोन्नती, सामाजिक सुरक्षा कोष सेवा, राम्रो काम गर्नेलाई प्रोत्साहन, नराम्रो गर्नेलाई निरुत्साहित गर्ने काम भइरहेका छन् ।

अस्पतालको प्रशासनिक क्षेत्र अस्तव्यस्त भएकाले पनि विगतमा कलेजले राम्रो काम गर्न सकेको थिएन । बसरुद्धिन अन्सारीले आउने वित्तिकै प्रशासन तर्फ सुधारका कामहरु गरेका थिए । अहिले कलेजका सबै विभागहरुमा कार्यरत चिकित्सक, कर्मचारीहरु जिम्मेवार भएका छन् ।

आउँदा दिनहरुमा कलेजको स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाएर लैजाने अन्सारीको योजना रहेको छ । कोरोना महामारीसँगै थिल्थिलो भएको अर्थतन्त्रमा उनले करिब २ अर्ब नयाँ लगानी गरेर नेपाल मेडिकल कलेजलाई उकास्न लागि परेका हुन् । प्रायः च्यालेञ्जिङ काम गर्न रुचाउने अन्सारीको लक्ष्य नेपाल मेडिकल कलेजको मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई नेपालकै नमुना बनाउने रहेको छ ।















0 प्रतिकृया