पाेखराले सडक र ढलकाे भाैतिक सम्पत्ति व्यवस्थापनमा र्याम्स लागू गर्ने
एक्सन खबर
पाेखरा, २३ साउन । पोखरा महानगरपालिकाले विश्व बैंकको आर्थिक सहयोगमा न्युजिप आयोजनाअन्तर्गत प्रारम्भिक चरणमा सडक र ढल निकासमा केन्द्रित हुँदै भौतिक सम्पत्तिको सहज व्यवस्थापन गर्ने प्रणाली लागू गर्न लागेको छ । परियोजनाको मूल उद्देश्य शहरमा निर्मित भौतिक पूर्वाधारको दिगोपन अभिवृद्धि गर्नु हो ।
अन्तर्राष्ट्रिय परामर्श कम्पनी आइसिइएम, राष्ट्रिय परामर्श कम्पनी जिइओसिइ पाेखरा महानगरको प्राविधिक मानव संसाधन र शहरी विकास तथा भवन निर्माण विभाग हाल (रोड एसेट म्यानेजमेन्ट) नामक वेब आधारित सफ्टवेयरको सहभागितामूलक विकासमा संलग्न छन् । उक्त प्रणाली एन्ड्रोइड मोबाइल फोनबाट सहजै चलाउन सक्नेछन् ।
उक्त प्रणाली एकपल्ट कार्यान्वयन भएपछि पाेखरा महानगरका प्राविधिकहरूले शहर भित्रका सडक र नालीहरूको अवस्थाको निरीक्षण र मूल्याङ्कन गर्न सक्छन् । साथै, साइटबाट डाटा इनपुट गर्न पनि सक्छन् । जुन महानगरको केन्द्रीय डाटाबेसमा तुरुन्त अद्यावधिक हुने भएकाेले फारममा हेर्न सकिन्छ ।
यसबाट प्रत्यक्षरूपमा स्थानिय नक्सा र सम्पत्तिकाे विवरण समेत प्राप्त हुने भएकाले सम्पत्तिमा हुने कुनैपनि क्षतिको गम्भीरताबारे आवश्यक निर्णय गर्न सकिन्छ । यसका अलावा महानगरपालिकाको योजनाबद्ध आवधिक मर्मतसम्भार गतिविधिहरूको लागि प्राथमिकता निर्धारण गर्न सकिन्छ र सोही अनुसार बजेट विनियोजन गर्न पनि सकिन्छ ।
आज पोखरामा फिल्ड आधारित तालिम कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिकाका मेयर धनराज आचार्यले र्याम्सको कार्यान्वयनलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘सूव्यवस्थित नगरकाे विकास र विस्तारमा याे प्रणालीले टेवा दिने अपेक्षा गरेकाे छु, यसकाे कार्यान्वयनमा पाेखरा महानगरपालिका लागि पर्नेछ ।’ मेयर आचार्यले भने ।
पाेखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र गिरीले र्याम्सको कार्यान्वयनले महानगरको वर्तमान सम्पत्ति व्यवस्थापन क्षमता बढाउने बताए । उनले सहरमा यातायात सुविधाको सूची नहुँदा महानगरले आफ्नो सम्पत्तिको उचित व्यवस्थापन गर्न संघर्ष गरिरहेको बताए ।
सोही अवसरमा बोल्दै विश्व बैंकका जोनास पर्बीले नेपाल शहरी शासकिय तथा पूर्वाधार क्षेत्र मार्फत र्याम्स कार्यान्वयनलाई प्राविधिक र आर्थिक रूपमा सहयोग गरेर र्याम्सको दिगोपनमा पाेखरा महानगरलाई सहयोग गर्न बैंक प्रतिबद्ध रहेको घोषणा गरे । विश्व बैंकले याे कार्यक्रमलाई सन् २०२५ सम्म जारी राख्ने अपेक्षा गरिएको छ । र्याम्सकाे कार्यक्रम पोखरा महानगरपालिकामा सफल भएसँगै नेपालका अन्य नगरपालिकामा पनि दोहोरिने उनले बताएका छन् ।
नेपाल शहरी शासकिय तथा पूर्वाधार क्षेत्रका परियोजना निर्देशक रवीन्द्र बोहराले नियमित सक्रिय मर्मतले भौतिक पूर्वाधारको दिगोपनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । आईसीईएमका टोली नेता डा. जेरेमी केर्यु-रीडले विश्व बैंक, पाेखरा महानगरपालिका, डीयूडीबीसी र र्याम्सको विकासमा संलग्न अन्य लाइन एजेन्सीहरूबाट उच्च स्तरको सहयोग प्राप्त भएकाेमा खुसी व्यक्त गरे ।
0 प्रतिकृया