मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक रोगकाे उपचार सेवा थालनी
एक्सन खबर
जनकपुरधाम, २० साउन । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले मानसिक रोग उपचार सेवा सुरु गरेको छ । बुधवार मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मानसिक रोगको अन्तरंग विभाग उद्घाटन गरे । भने, मनिपाल स्थित प्रतिष्ठानमा क्यान्सर केयर सेन्टरको पनि उद्घाटन गरियाे ।
कार्यक्रममा बाेल्दै प्रदेश प्रमुख मिश्रले मधेशमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिष्ठानले गर्दै आएको कार्यहरुको प्रशंसा गरे । मधेश प्रदेशमै पहिलोे पटक प्रतिष्ठानले मानसिक रोगको विरामी भर्ना गरि उपचार सुरू गरेकोमा खुशी व्यक्त गर्दै अन्स सेवाहरू पनि विस्तार गर्न सुझाए ।
कार्यक्रममा बाेल्दै सामाजिक विकासमन्त्री नवलकिशोर साहले विभिन्न समस्याको बाबजुत मधेशमा स्वास्थ्य सेवा विस्तारका लागि धेरै काम भइरहेकाे बताए । प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले हृदय रोग, क्यान्सर रोगसहितका जटिल प्रकृतिका रोगहरुको उपचारमा प्रतिष्ठान प्रतिबद्ध रहेको बताउँदै थप अन्य जटिल प्रकृतिका रोगको उपचार सेवा विस्तारका लागि आफुहरु काम गरिरहेको बताए ।
कार्यक्रममा क्यान्सर रोगको अवस्था, चुनौती र निदानका विषयमा नेपाल र भारतका विशेषज्ञ चिकित्सकहरुले प्रस्तुति सहित तथ्य पेश गरिएको थियो भने परामर्श समेत भएको थियो ।
भारतबाट आएका क्यान्सर केयर भारतका राष्ट्रिय अध्यक्ष डा. जितेन्द्र कुमार सिंहले क्यान्सर सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सांसद् डा. सुरेन्द्र प्रसाद यादव, प्रतिष्ठानका प्रवक्ता डा. जामुनप्रसाद सिंह, भारतका डा. नवलकिशोर सिंह, डा. विजय कुमार सिंह, प्रतिष्ठानका शिक्षाध्यक्ष डा. अंकुर साह लगायतको सहभागिता रहेकाे थियो ।
0 प्रतिकृया