वीपी प्रतिष्ठानमा पेटको पछाडी रहेको नौ किलोको ट्युमरको सफल शल्यक्रिया
एक्सन खबर
सुनसरी, २० साउन । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले पेटमा रहेको नौ किलोको ट्युमर निकालेका छन् । सप्तरीका ५५ बर्षिय एक पुरुषको गत २०७९ श्रावण ९ गते पेटको पछिल्लो भागमा रहेको ट्युमरको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको प्रतिष्ठानले जनाएको छ ।
उक्त बिरामीको पेटको पछिल्लो भाग रेट्रोपेरिटोनियममा रहेको नौ किलोको ट्युमरको शल्यक्रिया जी.आई सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा. कुणाल विक्रम देवको नेतृत्वमा भएको थियो । उक्त बिरामी शल्यक्रियाका लागि २०७९ असार ३१ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।
सामान्यतया रेट्रोपेरिटोनियम ट्युमर पेटको पछिल्लो भागमा रहेको शरीरको ठूला रगतको नशा जस्तै, एब्डोमिनल एओर्टा, इन्फिरियर भेना कावा, मृर्गौला र यस अंगबाट आएको पिसावको नली, ठूलो आन्द्रा, शरीरको तल्लो भागलाई सञ्चालन गर्ने स्नायुहरुसँग गाँसिएको हूनाले उक्त सर्जरी जटिल मानिन्छ ।
उक्त बिरामीको शल्यक्रियामा ट्युमरका साथै मृगौलाबाट आएको पिसावको नली काटेर जोड्नु परेको साथै बाँया भागको आन्तरिक इलियाक धमनी पनि बाँध्नु परेको थियो ।
उक्त जटिल शल्यक्रियाका लागि मल्टिडिसिप्लेनरी टिम एप्रोज तरिकाबाट डा. कुणाल विक्रम देवको नेतृत्वमा जी.आई सर्जरी विभागबाट प्रा.डा. शैलेश अधिकारी, डा. सुजन गौतम, डा. रतिस कर्ण, डा. सुस्मित शर्मा, यूरोलोजीबाट डा. आवाज काफ्ले, कार्डियोथोरासिक भास्कुलर सर्जरीबाट डा. विजय साह संलग्न रहेका थिए । साथै एनेस्थेसिया विभागबाट प्रा.डा. आशिष घिमिरेको नेतृत्वमा डा.अरुण मण्डल, डा. सुजन पुन रहेका थिए भने, नर्सिङ टिममा गीता बि.क., रेनुका चौधरी र शोभा राईको संलग्नता थियो ।
यसप्रकारको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्न एक कुशल टिमको सहभागिता तथा भूमिका अपरिहार्य पर्ने हुन्छ र सोहि बमोजिमको कुशल टिमको सहभागिताले शल्यक्रिया सम्पन्न भई आई.सि.यु.को २ दिनको बसाई र सर्जरी वार्डको ६ दिनको बसाईपछि उक्त बिरामी निको भई मिति गत साउन १७ गते डिस्चार्ज भइसकेको प्रतिष्ठानले जनाएको छ ।
बिरामी र उनका आफन्तले बिगत ५ महिनादेखि बिभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि धाइरहे पनि सफल उपचार हुन्छ र भन्ने द्विविधामा रहेका थिए । प्रतिष्ठानमा ग्यास्ट्रो सर्जन डा. कुणाल विक्रम देवको सल्लाह र बिरामी प्रतिको सद्भाव देखेर नै बिरामीको सफल उपचार हुन्छ भन्ने विस्वासमा उनीहरु पुगेका थिए ।
सफल शल्यक्रिया पश्चात बिरामी राम्ररी खान, बस्न र हिँड्न सक्ने भएपछि खुसी हुँदै बिरामीका परिवारले प्रतिष्ठानका जस्तो सुकै गम्भिर रोगको उपचार पनि हुनेमा आफुहरु विस्वस्त रहेको बताए । उनीहरुले धेरै घरायसी खर्च गरेर बिदेशको महँगो अस्पतालमा हुने जटिल शल्यक्रिया सर्वशुलभ तरिकाले कम खर्चमा प्रतिष्ठानमै सम्पन्न भएकोले प्रतिष्ठान प्रतिको बिश्वास अझै बढेको पनि बताए ।
0 प्रतिकृया