चाँगुनारायण नगरपालिकाले नेक व्यवस्थापनको जिम्मेवारी लियो, परिषद् चाँडै गठन हुने
एक्सन खबर
काठमाडौं, १ साउन । नेपाल इन्जिनियरिङ कलेज(नेक)को व्यवस्थापन चाँगुनारायण नगरपालिका मातहतमा सञ्चालन गर्ने निर्णय गरिएको छ । नगरपालिकामा आज मेयर जीवन क्षेत्रीको उपस्थितिमा बसेको बैठकले साउन १ गतेदेखि कलेजको व्यवस्थापन चाँगुनारायण नगरपालिका मातहत सञ्चालन गर्ने निर्णय भएको हो ।
यसअघि नगरपालिकाले २०७७ फागुन ९ गते नै नेपाल इन्जिनियरिङ कलेज सञ्चालन कार्यविधि ऐन २०७७ पास गरिसकेको अवस्थामा नगरपालिकाले त्यसलाई कार्यान्वयन गर्नका लागि साउन १ गतेदेखि कलेजको आर्थिक, प्रशासनिक जिम्मेवारी नगरपालिका मार्फत आएको नगरपालिकाका प्रवक्ता तथा बैठकका अध्यक्ष जनक खत्रीले बताए ।
खत्रीले असार मसान्तसम्म कलेज सञ्चालनको सम्पूर्ण दायित्व यसअघिको कलेज सञ्चालन बोर्डले लिने र त्यसको स्वेतपत्र जारी गर्ने समेत जनाए । ‘नेपाल इन्जिनियरिङ कलेज नगरपालिका मातहत सञ्चालनार्थ कार्यविधि ऐन २०७७ जारी भइसकेको छ । त्यसलाई कार्यान्वयन गर्ने सिलसिलामा साउन १ गतेदेखि कलेजको आर्थिक, प्रशासनिक लगायत सम्पूर्ण जिम्मेवारी चाँगुनारायण नगरपालिकाले लिने तथा कलेज सञ्चालनार्थ परिषद् गठन गर्ने विषयहरुमा छलफल भएका छन् । आजको दिनबाट नगरप्रमुखले कलेज सञ्चालनको अभिभारा लिनुभएको छ । त्यस अगाडीको आर्थिक, प्रशासनिक तथा शैक्षिक जिम्मेवारी कलेज प्रशासनले लिने र त्यसको स्वेतपत्र जारी गर्ने भनिएको छ ।’ प्रवक्ता खत्रीले भने ।
नगरपालिकाले लागू गरेको ऐन कार्यान्वयन गर्न छिट्टै परिषद् गठन गर्ने नगरपालिकाको तयारी रहेको खत्रीले बताए । कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले कलेजको स्थायित्वका लागि नगरपालिकाका बर्तमान मेयर जीवन खत्रीले ऐन कार्यान्वयनमा सकारात्मक भूमिका खेलेको बताउँदै अब चाँडै परिषद् गठन गरेर अगाडी बढ्ने बताए । नगरपालिकाको आउँदो कार्यपालिका बैठकले कार्यदल गठन गरेर परिषद् गठन गर्ने कार्य अगाडी बढाउने छ ।
नगरप्रमुखले यसअघि अनौपचारिक रुपमा ५ सदस्यीय कार्यदल गठन गरिएकोमा त्यसलाई साउन ६ गतेको बैठकले शिक्षक तथा कर्मचारीहरुबाट समेत प्रतिनिधित्व गराएर औपचारिकता दिने भनिएको छ ।
कलेजको तर्फबाट नगरपालिकाले कलेजको स्वामित्त ग्रहण गरेको सन्दर्भमा स्वागत गर्दै भोलीका दिनका कलेज सञ्चालन गर्दा कानुनी जटिलताहरु नआवोस् भनेर गहन अध्ययन गरेर अगाडी बढ्नु पर्नेमा सुझाव दिइएको थियो । कलेज सामाजिक शैक्षिक संस्था नै रहेकोमा दुईमत नरहेको बताउँदै मेयर जीवन खत्रीले कलेजको स्थायित्वका लागि नगरपालिका दृढ रहेको बताए ।
कार्यक्रममा कलेजका तर्फबाट विभागीय प्रमुख, शिक्षक, कर्मचारी प्रतिनिधि लगायत डेढ दर्जनको सहभागीतामा नगरपालिकालाई कलेजको आर्थिक, प्रशासनिक तथा शैक्षिक गतिविधिहरुको रिपोर्ट समेत बुझाइएको थियो ।
२०६० साल भाद्र ४ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सामाजिक शैक्षिक संस्थाको रुपमा दर्ता भएको कलेजका तत्कालिन सञ्चालकहरु मध्ये लम्बोदर न्यौपानेले २०७४ साल बैशाख २५ गते अन्य सञ्चालकहरुलाई समेत थाहै नदिई कम्पनी रजिष्ट्रार कार्यालयमा नेपाल इन्जिनियरिङ कलेज प्रा.लि. नामक एकल निजी कम्पनी दर्ता गरी कलेजको सम्पूर्ण चलअचल सम्पत्ति प्रा.लि.को नाममा हुने भनि प्रबन्ध पत्र समेत स्विकृत गराउँदै कलेज हत्याउने सड्यन्त्र गरेका थिए ।
याे पनि
चाँगुनारायण नगरपालिकाका प्रमुखलाई नेपाल इन्जिनियरिङ कलेजको बारेमा ब्रिफिङ
त्यसका विरुद्ध तत्कालिन सात जना सञ्चालकहरु मध्ये स्वर्गीय दीपक भट्टराई र हरिप्रसाद पाण्डेले कलेज सामाजिक शैक्षिक संस्था नै हो भनेर लामो कानुनी लडाई लडेका थिए ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनले कलेज मुनाफा रहित सामाजिक संस्था हो भन्ने निश्कर्षसहित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको निर्देशन बमोजिम २०७६ मंसिर २३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट चाँगुनारायण नगरपालिकाको प्रमुखको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरी कलेज सञ्चालनको बाटो खुलाएको थियो । सोहि निर्णय अनुसार तत्कालिन नगर कार्यपालिकाले कलेज सञ्चालनार्थ ऐन पारित गरेको थियो ।
कलेज सामाजिक शैक्षिक संस्था रहेकैले साविक चाँगुनारायण गाउँ विकास समिति (हाल चाँगुनारायण नगरपालिका वडा नं. १ र ४) मा रहेको १७४ रोपनी जग्गा कलेजलाई भोगचलनका निम्ति दिइएको छ ।
0 प्रतिकृया