मोदीसँग किन भेट भएन थाहा भएन : प्रचण्ड
एक्सन खबर
काठमाडाैं, १ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिए पनि अन्तिम समयमा हुन नसकेको बताएका छन् ।
भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई थाहा नभएको उनको भनाइ छ । तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका उनले मोदीसँग भेट नभएकोमा कुनै टेन्सन नभएको बताए ।
प्रचण्डले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग दुई घण्टा एक्लाएक्लै छलफल गरेको बताए । डोभलसँग नीति निर्माण तथा दुई देशबीचको सम्बन्धको अवसर र चुनौतीका बारेमा कुराकानी भएको उनले बताए । उनले उक्त भेटमा आफूले नेपाल र भारतका विषयमा धेरै कुरा उठाएको दाबी पनि गरे ।
प्रचण्डले भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग पनि लामो भेट भएको बताए । आफ्नो तीन दिनको भारत भ्रमण सफल भएको दाबी गरेका छन् । भ्रमण आफूले सोचेभन्दा राम्रो भएको भन्दै उनले विमानस्थलमा भारतीय जनता पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिन आएको तथा न्यानो स्वागत भएको बताए ।
दिल्लीमै रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणासँग शिष्टाचार भेट भएको प्रचण्डले बताए ।‘प्रधानमन्त्रीकी पत्नी र कांग्रेसकी केन्द्रीय सदस्य पनि भएकाले उहाँको उपचारमा चासो राखेर शिष्टाचार भेट गर्नु स्वभाविक हो । त्यो भेटमा उहाँको स्वास्थ्यलगायत सामान्य विषयमा कुरा भएको हो । त्योभन्दा बढी बुझ्नुभयो भने गलत हुन्छ।’ प्रचण्डले भने ।
0 प्रतिकृया