बीमा बोर्डले भुक्तानी नदिएपछि नोबेलद्वारा स्वास्थ्य बीमा कार्यक्रमका सेवाहरु स्थगन
एक्सन खबर
विराटनगर, १ साउन । स्वास्थ्य बीमा बोर्डले समयमै बीमा बापतको भुक्तानी नगरेपछि विराटनगरको नोबेल शिक्षण अस्पतालले आजराती १२ बजेपछि स्वास्थ्य बीमा कार्यक्रमका सेवाहरु स्थगित गरेको छ । लामो समयदेखि स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत भुक्तान गर्नुपर्ने रकम भुक्तानी नगरेपछि बाध्य भएर नोबेल शिक्षण अस्पतालले बीमा कार्यक्रम स्थगित गरेको हो ।
नोबलका अस्पताल निर्देशक डा. राजेश नेपालले बीमा बोर्डबाट बीमा क्लेमको रकम समयमा आउन नसक्दा कर्मचारीहरुको तलब, विभिन्न सप्लायर्सहरुको भुक्तानी, बैंकको ऋण लगायतमा कठिनाई भएको तथा नेपाल सरकारले २०७९/०८० को बजेट वक्तब्य मार्फत अबदेखि सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थामार्फत मात्रै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भनेकोले अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगन गरेको जनाएका छन् ।
नोबेलले एक सूचना प्रकाशित गरी भनेको छ–‘आ.व. २०७९/८० को बजेट वक्तब्य मार्फत नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम २०७९ श्रावण १ गतेदेखि सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै उपलब्ध गराउने पारित गरिएको र त्यसपछि स्वास्थ्य बीमा सूचारु हुने वा नहुने कुनै सूचना प्राप्त नभएकोले अन्यौलको परिस्थितिमा यस संस्थाले अर्को सूचना नभए सम्मको लागि स्वास्थ्य बीमा अन्तरगतका बिरामीहरुले प्राप्त गर्दै आउनु भएको आकस्मिक, वहिरंग, अन्तरंगका सबै सेवाहरु आज मिति २०७९ श्रावण १ गते रातको १२ बजेदेखि स्थगन गरिएको नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड अन्तरगतका सम्पूर्ण बीमाका बिरामीहरुलाई सूचित गरिएको छ ।’
नोबेलले आगामी दिनहरुमा सरकारले नीति स्वास्थ्य सेवा प्रदायक संस्थाहरुबाट समेत स्वास्थ्य बीमा कार्यक्रमका सेवाहरु प्रदान गर्ने भनि निर्देशन आएमा हालसम्म नोबेलले प्राप्त गर्नुपर्ने बाँकी वक्यौता सबै भुक्तानी भएको खण्डमा मात्र स्वास्थ्य बीमा कार्यक्रम सूचारु गर्ने जनाएको छ । साथै, नोबेलले स्वास्थ्य बीमा कार्यक्रम अन्तरगतका वाहेक अन्य सबै सेवाहरु पूर्णरुपमा सूचारु रहेको पनि जनाएको छ ।
नोबेलले स्वास्थ्य बीमा कार्यक्रम स्थगत गरिएको जानकारी स्वास्थ्य बीमा बोर्डको प्रदेश कार्यालय बिराटनगरलाई समेत गराएको छ । नोबेलले लामो समयदेखि स्वास्थ्य बीमा कार्यक्रमको भुक्तानी नपाउँदा अस्पताल सञ्चालन, चिकित्सक, कर्मचारीको तलब व्यवस्थापन र प्रशासनिक सञ्चालन तथा विभिन्न स्वास्थ्य सामग्री सप्लायर्सलाई दिनुपर्ने भुक्तानीमा समस्या आइरहेको जनाएको छ ।
नोबेल सँगै कयौं निजी स्वास्थ्य संस्थाहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेतापनि बीमा बोर्डले अनेक वहाना बनाउँदै बीमा वापतको रकम भुक्तानी गरेको छैन । बीमा बोर्डको लापरवाहीका कारण हज्जारौं बिमीत बिरामीहरुले सास्ती खेप्नुपर्ने देखिएको छ ।
0 प्रतिकृया