नेपाल मेडिकल कलेजमा गुरुहरुको चर्चा परिचर्चा
एक्सन खबर
काठमाडौं, २९ असार । गुरु पुर्णिमाको अवसरमा नेपाल मेडिकल कलेजमा विद्यार्थीहरुले आफ्ना गुरुहरुलाई स्मरण गर्दै कार्यक्रम गरिएको छ । बुधबार एक कार्यक्रम गर्दै कलेजका फ्याकल्टी तथा विद्यार्थीहरुले गुरुको महत्व दर्शाउँदै उनीहरु प्रति सम्मान व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाल मेडिकल कलेजका संस्थापक तथा पूर्वप्रिन्सिपल प्रा.डा. शेखरबाबु रिजाल रहेका थिए । सो अवसरमा बोल्दै डा. रिजालले कुनैपनि व्यक्तिको सफलताको पछाडी गुरुहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
एउटा विद्यार्थी जीवनमा सधैं विद्यार्थी नरहने तथा गुरु सदैव गुरु नै रहने चर्चा गर्दै डा. रिजालले गुरुले देखाएको सद्मार्गमा हिँड्न सके चेला अर्थात विद्यार्थीले सफलता प्राप्त गर्न सक्ने बताए । जस्तो गुरु उस्तै चेला भन्ने उखान नै रहेको उल्लेख गर्दै डा. रिजालले गुरुले पनि आफ्ना चेलाहरुलाई सदैव असल मार्गमा लाग्न प्रेरित गर्नुपर्ने जिकीर गरे ।
कार्यक्रममा बोल्दै कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीले आफ्नो जीवनमा गुरुको ठूलो महत्व रहेको बताए । गुरुले प्रदान गर्ने ज्ञान र असल शिक्षाले नै विद्यार्थीको जीवन सफल हुने र विद्यार्थीले पनि गुरुप्रति आदर सम्मान गर्नुपर्ने चर्चा गरे । कुनैपनि व्यक्ति सफल हुन जन्मदिने आमाबुबापछि गुरुले दिने ज्ञानको भूमिका महत्वपूर्ण रहने जिकीर गरे ।
‘आमाबुबाले असल तरिकाले लालनपालन गरे जस्तै गुरुले असल ज्ञान नदिने हो भने हामी सबैको जीवन अन्धकार हुन्थ्यो । बुबाआमाको हाम्रो जीवनमा जति महत्व छ त्यत्ति नै महत्व हामीलाई ज्ञान दिने, बाटो देखाउने गुरुहरुको छ ।’ विद्यार्थीले आफुलाई ज्ञान दिने गुरुहरु प्रति सदैव आदरभाव प्रकट गर्नुपर्ने चर्चा गर्दै अन्सारीले पछिल्लो पुस्ताहरुमा गुरुहरु प्रतिको सम्मान हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, भाइस प्रिन्सिपल डा. श्रृष्टी श्रेष्ठ, डाइरेक्टर डा. सविया यास्मिन, प्रमुख प्रशासकीय अधिकृत ज्योती खड्का तथा हस्पिटल इन्चार्ज दिलिप साह लगायत फ्याकल्टी र विद्यार्थीहरुको उपस्थिति समेत रहेको थियो ।
0 प्रतिकृया