मनमोहन प्राविधिक विश्वविद्यालयमा आजबाट पठनपाठन शुरू
एक्सन खबर
बुढीगंगा, २६ असार । मनमोहन प्राविधिक विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङले आजबाट पहिलो व्याचको पठनपाठन शुरू गरेको छ । आज स्वागत तथा अभिमुखिकरण कार्यक्रम आयोजना गर्दै आफ्नो शैक्षिक सत्र शुरू गरेको कार्यक्रमका अध्यक्ष तथा स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा. प्रचण्डमान प्रधानले जानकारी दिए ।
विश्वविद्यालय सभा सदस्यहरू तथा बोर्ड अफ ट्रष्टिजका सदस्यहरू समेत उपस्थित भएको उक्त कार्यक्रममा बोल्दै भूतपूर्व सहकुलपति जीवन घिमिरेले विद्यार्थीहरू पहिला असल मानिस भए मात्र असल इन्जिनियर बन्न सकिने बताए ।
कार्यक्रममा बोल्दै रजिष्ट्रार डा. दिलनाथ फूएलले शैक्षिक प्रशासनका निति नियमहरू जानकारी गराए । विश्वविद्यालयका सभा सदस्य सत्य नारायण चौधरीले विद्यार्थी र शिक्षकहरू दुवै अनुशासनमा रहि शैक्षिक कार्यमा अघि बढेमात्र राम्रो नतिजा ल्याउन सकिने बताए ।
पूर्व मन्त्री तथा विश्वविद्यालय सभा सदस्य लालबाबु पण्डितले विश्वविद्यालयले शैक्षिक सत्र शुरू गरेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा मन्तव्य राख्दै उपकुलपति डा. सुवासश्री पोख्रेलले विश्विद्यालयले चाँडै नै हेल्थ साईन्सको स्नातक कार्यक्रमहरू तथा ईन्जिनियरिङको स्नातकोत्तर तहका कार्यक्रमहरू शुरू गरिने बताए ।
कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई डिन डा. प्रचण्डमान प्रधान र बिभागीय प्रमुख इ. नरेन्द्र डाँगीले फूलको गुच्छाले स्वागत गरेका थिए ।
0 प्रतिकृया