प्यान र भ्याटमा दर्ता नभएका ब्यापारीले सुनसरी उद्योग वाणिज्य संघको चुनावमा भोट हाले
एक्सन खबर
धरान, २२ असार । सुनसरी उद्योग वाणिज्य संघको साेमबार सम्पन्न निर्वाचनमा व्यवसाय दर्ता गरेका तर आन्तरिक राजश्व कार्यालयमा दर्ता नभएका व्यवसायीहरूले समेत मतदान गरेका छन् ।
निर्वाचनमा मताधिकार भएकाहरुमध्ये अधिकांश आन्तरिक राजस्व कार्यालयमा दर्ता नभएका, नक्कली फर्म खडागरी काराेबार गरेका व्यापारीहरू रहेकाे खुलेकाे छ । असार २० गते ताेकिएकाे निर्वाचन अगाडी नै यस विषयमा चर्चा चलेतापनि संघका नेतृत्वहरूले फर्जी कम्पनी खडा गरी व्यवसाय गर्नेहरूलाई छानविन गर्नु पर्नेमा उल्टै संरक्षण गरेकाे आराेप छ ।
संघकाे निर्वाचनमा भाेट हाल्नकै लागि धरान उपमहानगरपालिकामा व्यवसाय दर्ता गराएर संघमा दर्ता भएका फर्महरू समेत पाइएकाे गुनासाे आएकाे आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख गाेविन्दराज आचार्यले बताए ।
संघकाे सदस्य बन्न नेपाल सरकार अन्तरगत कम्पनी रजिष्ट्रार कार्यालय, आन्तरिक राजश्व विभाग, साना तथा घरेलु उद्याेग र स्थानीय तह मध्ये एउटामा दर्ता भए पुग्छ । संघकाे यहि विधानलाई टेकेर कतिपय उम्मेदवारहरूले आफ्ना तथा आफन्तका नाममा फर्म दर्ता गराएर संघकाे सदस्यता लिने गरेकाे पाइएकाे छ ।
‘याे पल्टकाे निर्वाचनमा २९७७ मतदाता रहेका थिए । ती मध्ये कतिपय काराेबार नै नगरेका, गैरकानुनी रूपमा काराेबार गरेका फर्महरू छन् । आन्तरिक राजश्व कार्यालयले उद्याेग वाणिज्य संघबाट सबै सदस्यहरूकाे विवरण ल्याएर छानविन गरेकाे खण्डमा नक्कली फर्म खडा गरी काराेबार गर्नेहरू समेत फेला पर्न सक्छन् ।’ श्राेत भन्दछ ।
धरान उपमहानगरपालिकामा उमेद्वार वा सदस्य बन्नैका लागि फर्जी फर्म दर्ता गरी संघको सदस्य बनेकाहरुबाट राज्यले करोडौं राजस्व गुमाएको आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख गोविन्दराज आचार्यको भनाई छ । कार्यालयले संघमा दर्ता भएका २९७७ वटै फर्महरूकाे विवरण उद्याेग वाणिज्य संघसँग माग गरेपनि संघले विवरण दिएकाे छैन ।
कतिपयले धरान उपनगरपालिकामा एक पटक व्यवसाय दर्ता गराएर प्रमाणपत्र लिएका छन् । तर, त्याे प्रमाणपत्र नविकरण समेत नगरी निवेदन दिएर खारेज गर्दा संघको सदस्यता भने हरेक वर्ष नविकरण गरेर सदस्य बनिरहेका छन् ।
आन्तरीक राजश्व कार्यालयका प्रमुख आचार्यले संघकाे प्रावधान नै गलत रहेकाे बताउँदै यसले गैरकानुनी रूपमा व्यापार व्यवसाय गर्नेहरूलाई प्राेत्साहन मिलेकाे बताए । ‘संघको सदस्य लिन आन्तरिक राजस्व कार्यालयबाट प्यान नम्बर वा भ्याट नम्बर लिएको तथा हरेक वर्ष, व्यवसाय नविकरण वा कर चुक्ताकाे प्रमाणपत्र लिएकाे हुनु पर्दछ । यसाे गरेकाे खण्डमा नक्कली फर्म खडा गर्ने, नक्कली विलविजक जारी गर्ने, राजश्व छल्ने काम बन्द हुन्छ ।’ आचार्यले भने ।
आन्तरिक राजश्व कार्यालयले गत असार १५ गते नै सुनसरी उद्योग वाणिज्य संघलाई पत्राचार गरी संघमा सदस्यता लिएका फर्म हरूकाे विवरण माग गरेपनि संघले वेवास्ता गरेकाे पाइएकाे छ । धरानका ब्यवसायी बिष्णु कुमार लोहियाले सार्वजनिक रुपमै पत्रकार सम्मेलन गरी संघकाे निर्वाचनमा फर्जी व्यवसाय दर्ता गराएर मतदाता बढाएकाे भन्दै हल्लाखल्ला मच्याएका थिए ।
त्यसपछि राजश्व कार्यालयले संघकाे निर्वाचनमा प्रकाशित नामावली अनुसार विवरण दिन भनेकाेमा संघका अध्यक्ष गिरिधारी सापकाेटाले ठाडै व्यापारीकाे विवरण दिन नमिल्ने भनेका थिए । ‘गिरीधारी सापकाेटाले संघकाे सदस्यता लिएकाहरूकाे विवरण दिन नमिल्ने भने, तर नेपाल सरकार मातहतकाे निकाय भन्दा ठूलाे उद्याेग वाणिज्य संघकाे विधान पक्कै हैन । बरू संघले फर्जी कम्पनी खडा गरी काराेबार गर्ने, नक्कली विलविजक जारी गर्ने गैरकानुनी कृयाकलाप राेक्न सरकारलाई साथ दिनुपर्दथ्याे ।’ व्यवसायी लाेहियाले पत्रकार सम्मेलनमा भनेका थिए ।
राजश्व कार्यालय धरानले अब संघकाे निर्वाचनमा सार्वजनिक गरेकाे मतदाता नामावली अनुसार फर्म तथा व्यवसायीहरूकाे अनुगमन गर्ने र गैरकानुनी काम गर्ने व्यवसायीलाइ कारवाहीकाे दायरामा ल्याउने तयारी गरेकाे छ । ‘निर्वाचनमा सार्वजनिक नामावली हेरेर फिल्डमा जान्छौं । सकेसम्म उल्लेख भएको ठेगानामा जान्छौं र व्यवसाय दर्ता गर्न आग्रह गर्छाैं । अटेरी गरेमा त्यही पान नम्बर दिन्छौं ।’ कार्यालय प्रमुख आचार्यले भने ।
उनले फर्मकाे विवरण माग गर्दा सुनसरी उद्योग वाणिज्य संघले आफ्नाे विधान पठाइदिएकाे बताए । ‘विधानमा कर कार्यालयबाट पान वा भ्याट नम्बर लिनुपर्छ भन्ने रहेनछ । स्थानीय वा घरेलुमा दर्ता भएकाले सदस्य बन्न पाउने भन्ने रहेछ । मैले उहाँहरुलाई भनेको छु अबको पहिलो बैठकबाट विधान संसोधन गर्नुस् ।’ आचार्यले भने ।
संघकाे निर्वाचनमा सार्वजनिक मतदाता नामावली विवरणमा एउटै व्यक्तिका नाममा आधा दर्जन बढी फर्महरू दर्ता भएकाे पाइएकाे छ । ती सबै आन्तरिक राजश्व कार्यालयमा दर्ता भएकाे नभएकाे, काराेबार गरेकाे नगरेकाे पनि अनुसन्धानकाे विषय बन्न सक्छ ।
हेर्नुहाेस् उद्याेग वाणिज्य संघले प्रकाशित गरेकाे मतदाता नामावली
0 प्रतिकृया