असार २० गतेदेखि वीपी प्रतिष्ठानले स्वास्थ्य बिमा कार्यक्रम किन स्थगन गर्दैछ ?
एक्सन खबर
सुनसरी । स्वास्थ्य बिमा बोर्डले बिमाकाे रकम भुक्तानीमा ढिलाई गर्दा समस्यामा परेकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाबी गरेको बिमाको रकम अविलम्ब भुक्तानी नगरे स्वास्थ्य बिमा गरेकाहरूलाई बिमाबाट दिइने सेवा स्थगन गर्ने भएकाे छ ।
प्रतिष्ठानले एक सूचना प्रकाशित गरी अबिलम्ब बिमा रकम भुक्तानी नभए असार २० गते देखि अर्को सूचना जारी नहुन्जेल सम्मलाई बिमाबाट दिइने सेवा प्रतिष्ठानले स्थगन गर्ने भएको हाे ।
२०७४ साल साउनदेखि स्वास्थ्य बिमा मार्फत सेवाग्राहीहरूलाई सेवा दिइरहेको भएतापनि त्यसकाे शाेधभर्ना रकम नपाउँदा समस्या परेकाे जनाएकाे छ । प्रतिष्ठानले दाबी गरे अनुसारको सम्पूर्ण रकम शोधभर्ना उपलब्ध गराउन साथै स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालन गर्दा देखिएका प्राविधिक तथा अन्य समस्याहरूको सहजीकरण गर्न विभिन्न समयमा स्वास्थ्य बिमा बोर्ड लगायत सरोकारवालालाई पटक-पटक लिखित एवं बिमा बोर्डमा गई अनुरोध गरेको पनि जनाएकाे छ ।
बिमा रकम भुक्तानीमा देखिएकाे असहजताका बारेमा २०७९ ज्येष्ठ २० गते प्रधानमन्त्री कार्यालयबाट आएका प्रतिनिधिहरू लगायत स्वास्थ्य बिमा बोर्डका पदाधिकारी एवं सम्बद्ध अन्य अधिकारीहरुसँग प्रतिष्ठानमा प्रत्यक्ष छलफल एवं अन्तरक्रिया मार्फत जानकारी गराइएको भएता पनि हालसम्म समस्याहरूको समाधान नभएकाे प्रतिष्ठानकाे भनाइ छ । समयमै बिमा वापतकाे रकम नपाउँदा प्रतिष्ठान आर्थिक सङ्कटबाट गुज्रिरहेको प्रतिष्ठानकाे सूचनामा भनिएकाे छ ।
प्रतिष्ठानको अनुरोधलाई स्वास्थ्य बिमा बोर्डले बेवास्ता गर्दै दाबी प्रक्रियालाई सहजीकरण नगरी प्रतिष्ठानले गरेको दाबीहरूलाई एकतर्फीरूपमा विविध शर्त बन्देजहरू लगाई दाबीहरूलाई कम भ्यालुएसन गर्ने तथा बेवास्ता गर्ने कार्य गरिएको सूचनामा बताइएको छ । प्रतिष्ठानले प्रदान गरेको स्वास्थ्य उपचार सेवा बापतको खर्चलाई एकतर्फी रूपमा रद्द गरी स्वास्थ्य बिमा बोर्डले देखाएको यस किसिमको अन्याय प्रति प्रतिष्ठानले खेद समेत प्रकट गरिएकाे छ ।
प्रतिष्ठान एक अविच्छिन्न उत्तराधिकारवाला एवं स्वशासित संस्था भएकोले यसको दैनिक प्रशासनिक सञ्चालनका लागि आवश्यक पारिश्रमिक, तलब, भत्ता लगायत अस्पताल सञ्चालनका लागि चाहिने आवश्यक खर्च व्ययभार आफैले व्यवस्थापन गर्नुपर्ने समेत भनिएकाे छ ।
दैनिक रूपमा प्रतिष्ठानमा उपचारका लागि आउने हजारौँको सङ्ख्याका बिरामीहरूलाई स्वास्थ्य उपचार सेवा पुर्याए बापत प्राप्त गर्नुपर्ने नियमित आम्दानीको लगभग ७० प्रतिशत हिस्सा रकम समयमा नै प्राप्त हुन नसक्दा प्रतिष्ठानमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी नर्सिङ तथा अन्य कर्मचारीहरूको नियमित तलब भत्ता लगायतका दैनिक प्रशासनिक खर्च एवं अस्पतालको दैनिक सञ्चालन खर्चमा समेत प्रतिकूल प्रभाव परेको प्रतिष्ठानकाे भनाइ छ ।
स्वास्थ्य बिमा बोर्डले प्रतिष्ठानलाई प्रदान गर्नुपर्ने सम्पूर्ण दाबी रकमको भुक्तानी अविलम्ब गर्नुका साथै उठान गरिएका समस्याहरू समाधान यथाशीघ्र नगरिए बीमितहरुलाई प्रतिष्ठानले बहिरङ्ग, आकस्मिक तथा अन्तरङ्ग अन्तर्गत दिइने सम्पूर्ण सेवाहरू अर्को सूचना नहुन्जेलसम्मको लागि असार २० गतेदेखि स्थगन गरिने भनिएकाे छ ।
प्रतिष्ठान प्रदेश १, मधेस प्रदेश तथा छिमकी मुलुक भारतका सिमावर्ती क्षेत्रका जनताकाे उपचारार्थ आउने स्वास्थ्य संस्था हाे । दैनिक करिब ४ हजार सर्वसाधारणकाे उपचार गराउँदै आएकाे प्रतिष्ठानमा स्वास्थ्य बिमा कार्यक्रमबाट पनि उल्लेखनीय बिरामीले सेवा प्राप्त गरिरहेका छन् ।
0 प्रतिकृया