चुनावको हार स्वीकार्न नसकेर ढकालले हंगामा मच्चाएः सुन्दरहरैंचा कांग्रेस
एक्सन खबर
विराटनगर, २ असार । नेपाली कांग्रेस सुन्दरहरैंचा नगर कार्य समितिको नियमित बैठकमा पूर्वमेयर शिवप्रसाद ढकालले असम्बन्धित व्यक्तिहरु प्रवेश गराएर हंगामा मच्चाएको भन्दै आपत्ति जनाइएको छ ।
नेपाली कांग्रेसको तर्फवाट गत स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका नेता ढकाल पराजित भएपछि आफ्नो कमजोरी ढाकछोप गर्न उनले पार्टीभित्र हंगामा मच्चाएको कांग्रेस सुन्दरहरैंचा नगर कार्य समितिकाे आरोप छ ।
नेपाली कांग्रेस सुन्दरहरैंचा नगर समितिले पत्रकार सम्मेलन तथा प्रेस विज्ञप्ति जारी गरेर घटनाको भत्सना गरेको छ । गत मंगलवार कांग्रेस नगर समितिको नियमित बैठक बसेको थियो । बैठकमा अनाधिकृत रुपमा असम्बन्धित व्यक्तिहरुको जत्था प्रवेश गरी पूर्व नियोजित र अपराधिक तरिकावाट होहल्ला, हुलहुज्जत र भौतिक सामग्रीहरुको तोडफोड जस्ता घटना गराइएको भन्दै सुन्दरहरैंचा कांग्रेसले प्रेस विज्ञप्ति जारी गरेर घटनाको भर्त्सना गरेको हो ।
‘स्थानीय निर्वाचनको परिणामलाई लिएर गलत अफवाह फैलाउने, आफ्नो कमजोरी असक्षमता र अलोकप्रियतालाई ढाकछोप गर्न अनेक प्रपञ्च र प्रोपोगण्डा छर्ने र व्यक्तिगत मानमर्दन, गाली वेइज्जती र आक्रमण गर्नेसम्मको प्रयासमा उत्रने जस्तो अत्यन्तै गैरजिम्मेवार र निकृष्ट व्यवहार पार्टीकै केही जिम्मेवार व्यक्तिहरु र उनीहरुको निर्देशनमा भएको छ, जुन अत्यन्तै खेदजनक छ,’ सुन्दरहरैंचा कांग्रेस नगर समिति सभापति भक्तिप्रसाद सिटौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विधि विधान र प्रकृयासंगत ढंगले प्रस्तुत हुनुको साटो असम्बन्धित हुल जत्थालाई अघि सारेर पानी माथिको ओभानो बन्ने प्रवृतिले मुठभेडको स्थिति निम्त्याउनेतर्फ सचेत गराउँन चाहन्छौं ।’
0 प्रतिकृया