Follow us:


Follow us

६ वैशाख २०८३, आइतवार
६ वैशाख २०८३, आइतवार


‘हामी सबैको रकम फिर्ता गर्छौं तीन महिनाको समय दिनुहोस्’ बराहका सञ्चालक

एक्सन खबर
जेठ, ३०, २०७९


‘हामी सबैको रकम फिर्ता गर्छौं तीन महिनाको समय दिनुहोस्’ बराहका सञ्चालक

धरान ।  कोभिड–१९ को महामारी पछि वित्तीय व्यवस्थापनमा कमजोर देखिएको बराह बचत तथा ऋण सहकारी संस्थाले सबै शेयर सदस्य तथा बचतकर्ताहरुलाई धैर्यधारण गरी काम गर्ने मौका दिन आग्रह गरेको छ ।

शनिबार धरानमा बराह सहकारी पिडित संघर्ष समितिसँगको वृहद भेलामा बराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माले बराह ग्रुपसँग सात सय ५२ करोड बराबरको श्री सम्पत्ति भएको जनाउँदै ती सम्पत्तिहरु विक्रि गरेर भएपनि शेयर सदस्य तथा बचतकर्ताहरुको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाए ।

उनले अबको तीन महिना समय पाए सबै समस्या समाधान गरेर बराह सञ्चालनमा आउने जिकीर गरे । अध्यक्ष विश्वकर्माले बराह ग्रुपसँग सात सय ५२ करोड बराबरको सम्पत्ति भएकोले सञ्चालकहरु कोही पनि नभाग्ने र ग्राहक सदस्यहरुलाई धोका नदिने भन्दै केही समय पर्खन आग्रह गरे । ‘बराह ग्रुपसँग यहाँहरुको रकम फिर्ता दिन पर्याप्त चलअचल सम्पत्ति छ । मात्र त्यसलाई नगदमा रुपान्तरण गर्न समय लाग्ने भयो । हामीलाई अन्तिम मौका दिनुहोस हामी सबैको रकम फिर्ता गर्नेछौं ।’ विश्वकर्माले भने ।

सहकारीका अध्यक्ष विश्वकर्माले बराह ग्रुपका १५ वटा कम्पनी सञ्चालनमा रहेका संघर्ष समितिलाई जानकारी दिदै कम्पनी र सञ्चालकहरुको जायजेथा सम्पत्ति सबै गरि ५०३ करोड रहेको जनाए । भने, कम्पनीसँग अहिलेपनि २४८ करोड खुद व्यापारमा सम्पत्ति रहेको बताए ।

बराहसँग ब्यापार ब्यवसाय गर्ने धेरै ठाउँहरु रहेको बताउँदै विश्वकर्माले श्रीसम्पत्तिलाई नगद बनाउन मात्र समय लागेकोले धैर्यधारण गर्न अनुरोध गर्दै भने–‘हामीसँग भएको श्रीसम्पत्तिलाई नगद बनाउन समय लागेको हो । अहिले बैंकमा ऋण माग्दा पनि पाइएको छैन, सम्पत्ति बेच्न समय दिनुस् भनेका हौं । हामी भाग्दैनौं, संस्था खोल्ने वातावरण बनाइदिनुस ।’

विश्वकर्माले संघर्ष समितिका व्यक्तिहरुलाई नै बरु बराहको सम्पत्ति विक्री गर्न टिम खटाउन तथा ऋण उठाउन सहयोग गरिदिन आग्रह गरे । ‘हामीलाई अन्तिम मौका दिनुस्, हामी भाग्दैनौं, काम गरेर खान चाहन्छौं गर्न सकेनौं भने भानुचोकमा गोली हानेर मारिदिनुस् । मर्न तयार छौं ।’ विश्वकर्माले भने ।

उनले बराह ग्रुपसँग अहिलेसम्म भएको सम्पत्तिको सम्पुर्ण विवरण, लेखापरीक्षण रिपोर्ट धरान उपमहानगरपालिकामा बुझाइसकेको बताउँदै उपमहानगरपालिका बाट पनि छानबिन भइरहेको जानकारी दिए । विश्वकर्माले बरा बचत तथा बराह ग्रुप कुनैपनि हालतमा सञ्चालन गर्ने योजना आफुहरुको रहेको दावी गर्दै वचतकर्ताको लगानी फिर्ता गर्ने प्रष्ट पारे ।

उनले संस्थासँग भएको श्रीसम्पत्तिलाई विक्रि गरी नगरमा रुपान्तरण गर्न, बैंक वित्तीय संस्थाबाट नगद व्यवस्थापन गर्न तथा ऋण लगानी भएको ठाउँबाट असुल गर्नका लागि  तीन महिनाको समय लाग्ने बताउँदै त्यतिञ्जेल सम्म संस्था खोलेर कारोबार सुचारु गर्ने वातावरण बनाईदिन आग्रह गरेका छन् ।













0 प्रतिकृया