अबदेखि वीपी प्रतिष्ठानकै फार्मेसीबाट बिपन्न नागरिक कार्यक्रमका बिरामीले औषधी खरिद गर्नुपर्ने
एक्सन खबर
धरान । वीपी कोइरालाला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाल सरकारको विपन्न नागरिक कार्यक्रम अन्तर्गत मुटु, क्यान्सर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किन्सन्स, अल्जाईमर, मृगौला रोगका विरामीहरुलाई सेवा सुविधाहरु अन्तर्गत पाइने चिकित्सकको सल्लाह बमोजिमको औषधी तथा औषधीजन्य सामाग्रीहरु खरिद गरेवापतको बिल शोधभर्नाका लागि सोझै अस्पताल प्रशासनमा दाबी गर्ने गरिएकोमा सो प्रावधानलाई फेरबदल गरिएको छ ।
हालसम्म विपन्न नागरिक कार्यक्रमको सहुलियत पाएका विरामीहरुले चिकित्सकले लेखेको औषधीहरु प्रतिष्ठान बाहिरको औषधी पसलहरुबाट पनि खरिद गर्नेसक्ने प्रावधान रहेकोमा आउँदो असार १ गतेदेखि लागु हुनेगरि उक्त कार्यक्रम अन्तर्गतका विरामीहरुले औषधि खरिद गर्दा अनिवार्यरुपमा प्रतिष्ठानको फार्मेसीबाट नै खरिद गर्नुेपर्ने भनिएको छ ।
यसरी प्रतिष्ठानको फार्मेसीबाट औषधी खरिद गरे वापत प्राप्त बिल बिजक फार्मेसीको अधिकार प्राप्त कर्मचारीबाट प्रमाणित गराई शोधभर्नाका लागि दाबी गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ । कारणबस प्रतिष्ठानको फार्मेसीबाट कुनै औषधी तथा औषधीजन्य सामग्रीहरु उपलब्ध हुन नसकेको अवस्थामा फार्मेसीको अधिकार प्राप्त कर्मचारीबाट प्रमाणित गराई बाह्य फार्मेसीबाट सो खरिद गरिएका औषधी तथा औषधीजन्य सामग्रीहरुको बिल बिजकहरुलाई मात्र शोधभर्नाका लागि दाबी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिष्ठानले फार्मेसी पुर्णरुपमा सञ्चालनमा आईसकेको र अन्यत्रभन्दा सहुलियत दरमा औषधी तथा औषधीजन्य सामग्रीहरु पाइने जानकारी दिएको छ ।
यसैगरी, प्रतिष्ठानको ओ.पी.डी. टिकट काट्ने समय पनि परिवर्तन गरिएको छ । यसभन्दा अघी ओ.पी.डी. काउण्टर विहान आठ बजेदेखी खुल्ने गरेकोमा विरामीहरुको सुविधालाई ध्यानमा राखी अब उप्रान्त साढे सात बजेदेखी नै काउण्टर खुल्ने व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार प्रतिष्ठानको ओ. पी. डी. काउन्टर अबदेखि विहान ७ः३० बजेदेखी १२ः०० बजेसम्म खुल्नेछ । दिउसो भने पुरानै समय २ः०० बजेदेखि ३ः०० बजेसम्म खुल्नेछ ।
प्रतिष्ठानले बिरामीहरुको चापलाई दृष्टिगत गर्दै ओ. पी. डी. टिकट काउन्टरको समय फेरवदल गरेको जनाएको छ ।
0 प्रतिकृया