मजदुर संगठनद्वारा मजदुर पृष्ठभूमीका जनप्रतिनिधिहरुलाई सम्मान
एक्सन खबर
धरान । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले धरान उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ ।
धरान उपमहानगरपालिकामा निर्वाचित मजदुर पृष्ठभूमिबाट आएका प्रतिनिधिहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले बधाईसहित सम्मान गरेकाे हाे । सङ्गठनका केन्द्रीय अध्यक्ष भीम राई ‘ज्वाला’ले ९ जना जनप्रतिनिधिहरुलाई सम्मान गरे ।
सम्मानित हुनेहरुमा धरान १५ का वडाध्यक्ष नरेश इवारम, १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले, १० का वडाध्यक्ष विवेक राई, ८ का वडाध्यक्ष धनबहादुर राई, ७ का वडाध्यक्ष जीवनराज सुवेदी छन् । त्यस्तै वडास्दस्यहरुमा १५ का रङ्गलाल गिरी, १० का समसेर बर्देवा, ११ का डम्बर अधिकारी, ८ का देवीप्रसाद पोखरेललाई पनि सम्मान गरिएको छ ।
साे अवसरमा बाेल्दै सङ्गठन अध्यक्ष ज्वालाले स्थानीय सरकारको नीति निर्माणमा मजदुरहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै अधिकार सम्पन्न मजदुरहरुको नगरका रुपमा धरानलाई निर्माण गरिनुपर्ने बताए ।
स्थानीय तहमा अघिल्लो कार्यकालमा विजयी भएका अधिकांश मजदुर नेतृत्व दोहोरिएकाले मजदुरबाट नेतृत्व दक्षता रहेको प्रमाणित भएको केन्द्रीय अध्यक्ष ज्वालाले बताए ।
हरेक तहमा श्रमिकको १० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने नेकपा एमालेको नीति रहेकाेमा धरानमा ९ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएको भन्दै ज्वालाले एमाले मजदुरको पार्टीका रुपमा प्रमाणित हुँदै गएको बताए । उनले संगठनले उठाएका मुद्दा धरानमा नेकपा एमालेले सम्बोधन गरेकामा खुसी व्यक्त गरे ।
धरानमा निर्वाचित मजदुरहरुले अब मजदुरको सामाजिक सुरक्षा कार्यान्वयनको दिशामा काम गर्नुपर्ने बताए । मजदुर सुचीकरणको काम अघि बढाउन र सबै जनताको भावनासँग नजिक रही साझा प्रतिनिधि भएर काम गर्न जनप्रतिनिधिलाई केन्द्रीय अध्यक्ष ज्वालाले आग्रह गरे ।
0 प्रतिकृया