लम्जेलकाे हत्यामा संलग्न १३ वर्षीय बालक र १७ वर्षीय किशाेर पक्राउ
एक्सन खबर
सुनसरी । धरान-११ का सन्दीप लम्जेलको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले लम्जेलको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरिएकाे हाे ।
पक्राउ पर्नेमा धनकुटा सागुरीगढी–८ घर भई धरान–१५ बगरकोटमा रहेको एक सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय किशोर र धरान–१५ बगरकोट बस्ने १३ वर्षीय बालक रहेका छन् । किशोरलाई धनकुटा छिन्ताङबाट र बालकलाई बगरकोटबाट पक्राउ गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरु दुवैजना नावालक रहेका छन् ।
सन्दीपलाई गत जेष्ठ १२ गते बिहान ५ः३० बजे धरान–५ स्थित तल्लो देउराली सुन्दरवस्ती छेऊ सेउती बगरमा हत्या गरी फालेको अवस्थामा शव फेला परेको थियो भने अनुसन्धानपछि दुईजना पक्राउ परेको डीएसपी श्रेष्ठले जानकारी दिए ।
पक्राउपछि उनिहरुलाई अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता–२०७४ को ज्यान सम्बन्धी कसुरमा पाँच दिनकाे म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको इप्रका धरानले जनाएकाे छ ।
प्रहरीका अनुसार उनीहरु दुवै मिलेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुवैजना मिलेर मृतकको पेट, ढाड, कुम र घाँटीको अगाडी भागमा निरन्तर छुरा प्रहार गरिएको र घाँटीको पछाडि गर्धनको भागमा छुराले रेटेर काटेर मारेपछि अनुहार तथा टाउको समेतको भागमा समेत ढुंगाले किच्याइ शवलाई घोप्टो पारेर हिँडेको पाइएको डीएसपी श्रेष्ठले बताए ।
घटनाको कारण सन्दीपले बगरकोटको एक सेकुवा कर्नरमा काम गर्दै आएका साँगुरीगढी–८ घर भई धरान–१५ बगरकोटमा रहेको वर्ष १७ को किशोरलाई फोन गरेर ‘शारिरीक सम्बन्ध राख्ने केटी खोजी देऊ’ भन्दै धम्काई गालीगलौज समेत गरेको कुरालाई रिसइवी साँधेर हत्या गरेको बयान ती किशोरले दिएका छन् ।
‘मृतक लम्जेलले ‘केटी मिलाइदे नत्र दाँत झारिदिन्छु’ समेत भनेको ती किशोरले बयान दिएका छन्’, डिएसपी श्रेष्ठले भने, ‘त्यस्तो धम्की दिएपछि बालकहरूले योजना बनाएको देखिएको छ ।’सन्दीपले भनेअनुसारको ‘केटी सम्पर्कमा छ’ भनेर ती किशोरले झुक्याएर खोरिया बस्ती सेउती खोलाको पश्चिम भागसम्म पुगेपछि मोटरसाइकल रोक्न लगाई होटलबाट लिएर गएको छुरीले उनीमाथि प्रहार गरेका थिए ।
गत बुधबार राति साढे ७ बजेतिर घरमा मोटरसाइकल थन्क्याइसकेका लम्जेल आधाघण्टामा आउने भन्दै हिँडेका उनी गत बिहीबार बिहान ५ बजेतिर मृत भेटिएका थिए ।
0 प्रतिकृया