Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने, एक घण्टामा चितवन पुग्ने द्रुतमार्ग

एक्सन खबर
जेठ, १५, २०७९


कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने, एक घण्टामा चितवन पुग्ने द्रुतमार्ग

काठमाडौं, १५ जेठ । सरकारले आगामी साउन १ गतेदेखि लागू हुनेगरी तलबमा १५ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले बृद्धि गरिने बताएका हुन् ।

निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्रसेवकहरूलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन साउन १ गतेदेखि लागू हुनेगरी तलबमानमा १५ प्रतिशतले बृद्धि गरिएको मन्त्री शर्माले बताए ।

हाल खाईपाई आएको महंगी भत्तालाई समेत निरन्तरता दिएको उनको भनाइ छ । राष्ट्रसेवक कर्मचारीहरूको तलब सुविधा पुनरावलोकन गर्न र श्रमिकहरूको तलब सुविधाको अध्ययन गरी सरकारलाई सिफारिस गर्न एक उच्चस्तरिय तलब सुविधा आयोग गठन गरिने मन्त्री शर्माले बताए ।

यस्तै सरकारले २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ । यसले कम विद्युत खपत गर्ने सर्वसाधारणलाई राहत पुग्ने सरकारको विश्वास छ ।

अनलाइनलाई पनि लोक कल्याणकारी विज्ञापन

सरकारले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने भएको छ । अर्थमन्त्री शर्माले अब अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने जानकारी दिएका हुन् ।

यसअघि दैनिक, साप्ताहिक, टेलिभिजन र रेडियोलाई मात्र लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइन्थ्यो । अब भने अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइने भएको हो ।

 दोलखामा फिल्म सिटी, काभ्रेमा इन्डोर स्टुडियो

यस्तै, दोलखामा फिल्म सिटी र काभ्रेमा इन्डोर स्टुडियो निर्माण गरिने भएको छ  । दोलखामा फिल्म सिटी र काभ्रेको बनेपामा इन्डोर स्टुडियो निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।

दोलखामा फिल्म सिटी निर्माण गरी सरकारी–निजी साझेदारीमा अघि बढ्ने तथा काभ्रेको बनेपामा अत्याधुनिक इन्डोर स्टुडियो बनाइने बजेटमा उल्लेख गरिएको छ । यसैगरी नेपाली कला, भाषा र मौलिकता झल्किन गीत तथा फिल्म सिर्जना गर्ने सर्जकलाई प्रोत्साहन गरिने बजेटमा उल्लेख गरिएको छ ।
 
गल्छी–रसुवागढी सडकलाई एक अर्ब ८५ करोड

सरकारले चीनसँगको सीमानाकासम्म पुग्ने सडकलाई प्राथमिकता दिएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा गल्छी–रसुवागढी सडकलाई प्राथमिकतामा राखी १ अर्ब ८५ करोड रुपैयाँ बेजट विनियोजन गरेको छ ।

‘गल्छी–त्रिशुली–वेत्रावती–मैलुङ–स्याफ्रुवेशी–रसुवगढी सडको गल्छीदेखि स्याफ्रुवेशी खण्डको ६२ किलोमीटर दुई लेन कालोपत्रे गर्न र स्याफ्रुवेशीदेखि रसुवागढीसम्मको सडक स्तरोन्नति गर्न १ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छु,’ अर्थमन्त्री शर्माले भने ।

 रेल र मेट्रो रेलका लागि ६ अर्ब ५३ करोड

सरकारले रेल मेट्रो रेल आयोजनाका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पूर्वपश्चिम रेलमार्गको बर्दिबास–निजगढ खण्डको निर्माण कार्यलाई तीव्रता दिइने अर्थमन्त्री शर्माले बताए । वीरगन्ज–काठमाडौं  रेलमार्ग र काठमाडौं मेट्रो रेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने उनको भनाइ छ ।

विराटनगर–धरान, पथलैया–वीरगन्ज, भैरहवा, बुटवल र पोखरा उपत्यकामा ट्राम यातायातको सम्भाव्यता अध्ययन गरिने मन्त्री शर्माले बताए ।  जयनगर–जनकपुर–कुर्था यातायात रेल सेवा विस्तार गरी विजयपुरसम्म यातायात सञ्चालन गरिने उनको भनाइ छ ।

विजयपुरा बर्दिबास र विराटनगर खण्डमा जग्गा प्रक्रियाका लागि स्रोतको प्रबन्धन मिलाएको उनको भनाइ छ । विर्तामोड–जलेश्वर–जनकपुर रेल यातायात सेवा विस्तारको सम्भाव्यता अध्ययन गरिनेछ ।

एक घण्टामा चितवन पुग्ने द्रुतमार्ग

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट काठमाडौं–चितवन द्रुतमार्ग निर्माण प्रक्रिया अघि बढाउने भएको छ । ‘काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवनु द्रुतमार्ग पहिलो चरणमा निर्माण गर्ने र चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग नीजि क्षेत्रको लगानीमा निर्माण गर्न लगानी वोर्ड नेपाल मार्फत प्रक्रिया अघि बढाइने छ,’ मन्त्री शर्माले भने ।

यसबाट काठमाडौंदेखि बुटबल र काठमाडौंदेखि पोखरासम्मको यात्रा उल्लेख्य रुपमा छोटिने उनले जनाए छ ।

जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड

सरकारले जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड बजेट विनियोजन गरेको जानकारी दिएको छ । अर्थमन्त्री शर्माले जलस्रोत तथा सिँचाइका लागि कूल ३३ अर्ब ५० करोड रकम विनियोजन गरेको जानकारी दिएका हुन् ।
 
 शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड

सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । शिक्षा तर्फ प्रत्येक प्रदेशलाई ५ अर्ब ३२ करोड रूपैयाँ अनुदान दिने भएको छ । त्यस्तै स्थानीय तहमा एक खर्ब २१ अर्ब एक करोड रूपैयाँ हस्तान्तरण गरेको अर्थमन्त्री शर्माले बताए ।
 
९८ प्रकारका औषधी निःशुल्क

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट देशभरका सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउने भएको छ । ‘सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउने व्यबस्था गरेको छु,’ मन्त्री शर्माले भने ।

यस्तै, मृर्गौला प्रत्यारोपण गरेका तथा डाइलोसिस गराइरहेका व्यक्तिहरु, सबै प्रकारका क्यान्सर रोग निधान भएका व्यक्तिहरु, मेरुदण्ड, पक्षघात भएका विरामीलाई औषधी खर्च वापत मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउन एक अर्ब ५० करोड रुपैयाँ छुट्टयाएको उनले जनाए ।
 
प्राविधिक तथा व्यवसायीक शिक्षाका लागि ८ अर्ब ३० करोड

अर्थमन्त्री जनार्दन शर्माले प्राविधिक तथा व्यवसायीक शिक्षा तालिमका लागि ८ अर्ब ३० करोड बजेट विनियोजन गरेको बताएका छन् । मन्त्री शर्माले प्राविधिक तथा व्यवसायी शिक्षा तालिम परिषद्को पुनर्संरचना गरिने बताए ।

पुनर्संरचना गर्दै छुट्टाछुट्टै तालिम गुणस्तर नियामक निकाय र सीपमूलक तामिल कार्यक्रम कार्यान्वयन निकायको रूपमा विकास गरिने छ ।

प्राविधिक तथा व्यवसायी शिक्षाको विस्तार, समृद्धिको आधार भन्ने सोचका साथ हाल सञ्चालनमा रहेका प्राविधिक विद्यालयको नक्साङ्कन तथा समायोजन गरी पहुँच विस्तार गरिने मन्त्री शर्माले बताए । प्राविधिक शिक्षालाई क्रमशः प्रदेशमा हस्तान्तरण गरिने उनले बताए ।













0 प्रतिकृया