फरवार्ड माइक्रोफाइनान्स एक दशकमै मुलुककै उत्कृष्ट वित्तीय संस्था बन्न सफल
एक्सन खबर
सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड स्थापनाको एक दशकमै मुलुककै उत्कृष्ट वित्तीय संस्था बन्न सफल भएको छ । २०६९ साल जेठ ३ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको माइक्रोफाइनान्सले एक दशकमै उत्कृष्ट तीनमा पर्न सफल भएको हो ।
ग्रामिण महिला आर्थिक सशक्तिकरणको अभियानमा केन्द्रीत रहेर लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आइरहेको फरवार्डको वित्तीय परिसूचकले संस्थालाई उत्कृष्ट वित्तीय संस्थाका रुपमा उभ्याएको बताइएको छ । शुक्रबार संस्थाको नवौं वार्षिकोत्सवको अवसरमा निमित्त कार्यकारी प्रमुख कृष्ण प्रसाद भट्टराईले उक्त जानकारी दिए ।
फरवार्डको नवौं वार्षिकोत्सव समारोहका प्रमुख अतिथि निवर्तमान कार्यकारी प्रमुख तथा गढी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष आशनारायण चौधरी रहेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै चौधरीले संस्थाले १० वर्षमा हासिल गरेको प्रगतिको श्रेय सञ्चालक, प्रमोटर तथा कर्मचारीलाई दिए । कर्मचारीहरुको साथ र सहयोगकै कारण आफुले माइक्रोफाइनान्सलाई नेपालकै उत्कृष्ट माइक्रोफाइनान्सको रुपमा स्थापित गर्न सकेको बताउँदै चौधरीले संस्थाप्रति कर्मचारी उत्तरदायी हुनुपर्ने तथा कर्मचारीप्रति संस्था पनि उत्तरदायी रहनुपर्ने बताए । ‘म अहिले जुन स्थानमा पुगेको छु त्यसमा समेत यहाँका कर्मचारी, सञ्चालकहरुको हात रहेको छ ।’ उनले भने ।
फरवार्डले ग्रामिण भेगमा रहेका महिलाहरुलाई आर्थिक सशक्तिकरणमा जोड्दै मुलुकको आर्थिक सूचकांकमा योगदान पुर्याएको चर्चा गर्दै चौधरीले १० वर्षको अवधिमा फरवार्डले २१ अर्बको पोर्टफोलियो खडा गर्न सक्नुको आधार सञ्चालक, कर्मचारी र व्यवस्थापन विचको तालमेल रहेको जनाए । ग्रामिण महिला उत्सुकता विकास मञ्चले नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्तता गर्ने अनुमति लिएसँगै फरवार्ड माइक्रोफाइनान्सको स्थापना भएको चर्चा गर्दै उनले आफ्नो कार्यकालमा आफुलाई सफल बनाउने सबैलाई धन्यवाद दिए ।
एभरेष्ट बैंकको तर्फबाट फरवार्डको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका केशबराज पौडेलले फरवार्डको वित्तीय परिसूचक अत्यन्त राम्रो हुनुमा व्यवस्थापन पक्ष सवल रहेको बताए । फरवार्डले ल्याउने कुषि सम्बन्धी जुनसुकै कार्यक्रममा बैंकले सहकार्य गर्ने जनाउँदै ग्रामिण अर्थतन्त्रलाई मजवुद बनाउन माइक्रोफाइनान्सहरुको ठूलो देन रहेको चर्चा गरे ।
अर्का सञ्चालक सदस्य सत्यनारायण चौधरीले फरवार्डले उद्यमशिलता र ग्रामिण क्षेत्रमा लगानी गरेर धेरै स्वरोजगार महिला उत्पादन गरेको बताए । कृषि, लघु उद्योग, महिला सीप प्रवद्र्धनमा गरेको लगानी प्रभावकारी भएको चर्चा गर्दै चौधरीले राष्ट्रलाई उद्यमी बनाउने सवालमा माइक्रोफाइनान्सको योगदान महत्वपूर्ण रहेको बताए । ‘सीप र उद्यमशिलतासँग जोडिएका धेरै विषयसँग माइक्रोफाइनान्स जोडिएको छ यसले देश र समाजको आर्थिक रुपान्तरणमा टेवा पुगेको छ ।’ उनले भने ।
सञ्चालक सदस्य जगतजंग जिसीले संस्था बलियो बन्न मितब्ययितता अपरिहार्य भएको बताउँदै त्यसको उदाहरण फरवार्ड माइक्रोफाइनान्समा रहेको बताए । फरवार्डका सञ्चालक, कर्मचारी र प्रशासन मितव्ययी रहेको भन्दै ठूला बैंकहरु बिलासी हुँदा लगानीकर्ताहरुले समुचित प्रतिफल पाउन नसकेको जिकीर गरे ।
कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष भगवती चौधरीले फरवार्ड माइक्रोफाइनान्सको पोर्टपोलियो बलियो हुनुमा सञ्चालक, कर्मचारी तथा लघुवित्तसँग आबद्ध सबैको महत्वपूर्ण भूमिका रहेको बताइन् । फरवार्ड माइक्रोफाइनान्स स्थापना हुनु अगाडी नै ग्रामिण महिला उत्सुकता विकास मञ्चमार्फत गाउँगाउँमा वित्तीय साक्षरता, महिला सशक्तिकरणका अभियान सञ्चालन गरेकाले फाउण्डेसन तयार भएको बताइन् ।
महिला अधिकारवादी नेतृ समेत रहेकी चौधरीले लघुवित्त कार्यक्रमले ग्रामिण अर्थतन्त्रलाई सवल बनाउन तथा महिलाहरुलाई आर्थिक क्षेत्रमा जोड्ने काम माइक्रोफाइनान्सले गर्दै आएको जनाइन् । कुनैपनि उद्यमीले कर्जाको सहि सदुपयोग गरेको खण्डमा संस्था सवल बन्ने चर्चा गर्दै ऋणको सदुपयोग भए ऋणीलाई मात्र नभइ ऋण प्रदायकलाई पनि फाइदा पुग्ने बताइन् ।
‘तपाईहरुले पशुपालनमा ऋण लैजानु हुन्छ तर, राम्रो साडी लगाउन, भोजभतेरमा खर्च गर्न थाल्नुभयो भने त्यसले तपाईहरुलाई मात्र हैन ऋण दिनेलाई पनि असर गर्छ । त्यसकारण ऋणको सहि सदुपयोग भने उन्नती प्रगति हुन्छ भएन भने उठिबास लगाउँछ ।’ फरवार्डले उद्यमशिल क्षेत्रमा बढी लगानी गरेको चर्चा गर्दै अध्यक्ष चौधरीले भनिन् ।
स्वास्थ्यकर्मी र सञ्चारकर्मी सम्मानीत
फरवार्डको नवौं वार्षिकोत्सवको अवसरमा महिला स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई सम्मान समेत गरिएको थियो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत गढी गाउँपालिकाकी महिला स्वास्थ्य स्वयं सेविका सुमित्रा चौधरी तथा सञ्चारकर्मी केशब सापकोटालाई सम्मान गरिएको थियो ।
चौधरीलाई ग्रामिण स्वास्थ्य सेवामा योगदान पुर्याए वापत तथा सञ्चारकर्मी सापकोटालाई महिला आर्थिक सशक्तिकरण, लघुवित्त कार्यक्रमका क्षेत्रमा कलम चलाएवापत सम्मान गरीएको थियो । सम्मानीतद्वयलाई कार्यक्रमका प्रमुख अतिथी आशनारायण चौधरी, सभापति भगवती चौधरी लगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा ग्राहक लघुउद्यमी तर्फ ११ जनालाई विषयगत सामग्री खरिद गर्न जनही ११ हजार, कार्यरत कर्मचारीतर्फ ५३ जना, टार्गेट पुरा गरेका, उत्कृष्ट व्यवस्थापन गरेका शाखा, केन्द्रहरुलाई समेत गरेर ७ लाख ३२ हजार नगद पुरस्कार समेत वितरण गरिएको थियो ।
निवर्तमान प्रमुख कार्यकारी अधिकृतको विदाई
नवौं वार्षिकोत्सव समारोहमा फरवार्ड माइक्रोफाइनान्सका निवर्तमान प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीलाई समेत विदाई गरिएको थियो । गत बैशाख ११ गते राजिनामा दिएर गएका चौधरीले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गढी गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । फरवार्ड माइक्रोफाइनान्सको स्थापना कालदेखि प्रमुख कार्यकारी अधिकृत रहेका चौधरीले संस्थाको श्रीबृद्धिमा पुर्याएको योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो ।
0 प्रतिकृया