काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन पछि काठमाडौं उपत्यकाका नदीकिनारका सुकुम्बासी बस्ती हटाउने तयारी तीव्र भएको छ । शनिबार वा आइतबार डोजर चलाउने योजना बनाइए पनि सुकुम्बासीको व्यवस्थापनबारे स्पष्ट योजना नहुँदा अन्योल देखिएको छ ।
काठमाडौं महानगरपालिकाले तत्कालका लागि सुकुम्बासीलाई होटलमा राख्ने खर्च व्यहोर्ने तर सम्भावित क्षतिको जिम्मेवारी नलिने बताएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले बस्ती हटाउनुअघि बसोबासको वैकल्पिक व्यवस्था टुंग्याउनुपर्नेमा जोड दिएका छन् ।
यसैबीच, प्रहरीद्वारा थापाथली क्षेत्रमा बस्ती खाली गर्न माइकिङ भइसकेको छ भने सुकुम्बासीहरूले जबर्जस्ती हटाए प्रतिकार गर्ने चेतावनी दिएका छन् । उनीहरूले भूमि ऐनअनुसार लालपुर्जा दिन माग गरेका छन् ।
सरकारले इचंगुनारायणमा निर्माण भएका फ्ल्याटमा सुकुम्बासी सार्ने योजना अघि सारे पनि कार्यान्वयन अनिश्चित देखिएको छ । उपत्यकामा हाल करिब ६ हजार सुकुम्बासी परिवार रहेको अनुमान गरिएको छ ।
0 प्रतिकृया