एमालेको सर्वनाक हार र अबको बाटो
एक्सन खबर
रेवती घिमिरे
पञ्चायतकालदेखि नै कम्युनिस्टहरूको किल्ला मानिएका काठमाडौं देखि झापा सम्म नै एमाले लगायत कम्युनिस्टहरुले सर्वनाक हार बेहोर्नु परेकोछ । नेतृत्वको दम्भ, भुइँमान्छेसँग टुटेको सम्बन्ध, सुशासनमा उदासिनता र सत्ताकेन्द्रित प्रवृत्तिले संसदीय इतिहासमै पहिलोपटक कम्युनिस्ट शक्ति यति ठूलो संकटमा परेको छ । पञ्चायतकालमै गडेको किल्ला पनि यसपटक गुमाउनु पर्याे । नेपालको संसदीय इतिहासमै कहिल्यै नआएको नतिजा यसपटक बेहोर्नु पर्याे । २०१५ सालको पहिलो आमनिर्वाचनमा समेत एउटा सिट राजधानीबाट नेपाल कम्युनिस्ट पार्टीले जितेको थियो । पञ्चायत कालमा भूमिगत कम्युनिस्टहरू लुकाएर राख्नेदेखि लिएर जनपक्षीय उम्मेदवार जिताउने कामसमेत राजधानीले नै गरेको थियो ।
२०४३ सालको राष्ट्रिय पञ्चायतकाे निर्वाचनमा जनपक्षीय उमेदवारकाे रुपमा पद्मरत्न तुलाधरले सूर्य चिह्न लिएर चुनाव जितेका थिए । ०४५/०४६ काे जनआन्दोलन सफलता पछि २०४८ सालमा राजधानीले एमालेलाई अभूतपूर्व सफलता दिएको थियो । एमालेका तत्कालीन महासचिव मदन भण्डारीले अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौं–१ बाट हराउँदै काठमाडौंका दुई स्थानबाट चुनाव जितेका थिए । मदनकाे निर्वाचित अवस्था र उनको नीतिका कारण एमाले मुलुक भरि एउटा सशक्त शक्तिका रूपमा स्थापित भएकाे थियो । यस्तो परिस्थितिमा अगाडि बढेको एमालेमा आज कतिपय प्रभावशाली नेताहरुले जमानत समेत जाेगाउन नसकेको स्थितिमा पुगेको छ ।
एमाले नेताहरूकै व्यवहारका कारण आजको स्थिति आएको छ । ‘भुइँतहका समस्याहरुलाई बोक्न र उठाउन त परै जाओस् त्यसमा बेखबर समेत भएको देखियो । आम भुइ मान्छेसँगको सम्बन्धविच्छेद भयो । नेताहरूले आफूलाई सामन्ती शैलीबाट जाेगाउन सकेनन् मात्र हैन नाेकरशाहि दलाल पुजीवादीहरु सँग बढी लचक र सामिप्यता देखियो । सत्तामा हुँदा कतिपयको आम चरित्र पञ्चायतकालीन शासकभन्दा भिन्न देखिएन । भ्रष्ट र दलाललाई पोस्ने र उनीहरूकै चाहनामा सत्ता चलाउने जस्तो देखियो । नेतृत्व बदलिन त परको कुरा म बिनाको एमाले र एमाले बिनाकाे नेपालकाे कल्पना हुनै नसक्ने अभिव्यक्ति समेत दिन पछि परेनन् । नयाँ सोच, नयाँ भिजन लिएर अगाडि त आए हाेला तर त्यसलाई दम्भ, घमण्ड र स्वेच्छाचारीताले खाइदियाे ।
कतिपय नेता तथा आम कार्यकर्ताकाे भावना विपरित तत्कालीन माओवादी सँग गरिएको एकता नेतृत्वकै कारण जाेगिन सकेन । "पार्टीको आन्तरिक जीवनकाे संवेदनशील घडीमा पनि संयम, विरोधका स्वर सुन्नसक्ने धैर्यता, जनता प्रतिकाे उत्तरदायी भावना र जनताबाटै नियन्त्रित जिम्मेवारी मेरो काधमा रहेको छ भन्ने कुरा नेतृत्वले भुल्नुहुदैन" भन्ने मदन भण्डारीकाे बिचारमा कँहि कतैपनि हेक्का राखेको देखिएन । सियो जब एक्लै हिँड्न थाल्छ भने बुझ्नाेस् कि, उसको कर्म घाेच्नु मात्र हुनेछ, तर जब उसले धागोकाे साथ पाउँछ, उसको काम च्यात्तिएको, फाटेकाेलाई जाेड्ने हुन्छ । संगतकाे असरले उसको स्वभाव त बदल्दैन तर कर्म जरुर बदल्छ भन्ने हेक्का राखिएन ।
अब नेकपा एमालेले आफ्नो विगतलाई गम्भीर र निर्मम समिक्षा गरेर संसदमा रचनात्मक र जनपक्षीय भुमिका निर्वाह गर्दै विशेष महाधिवेशन मार्फत नेतृत्व र नीतिलाई पुनः संरचना गरी अधिकतम युवा पंक्तिलाई जिम्मेवारी दिदै भुइँ मान्छेहरु सँग जाेडिएर उनिहरुकाे आवाजलाई आत्मसात गर्ने र काम गरेर जराबाट अंकुरण गराउन सक्नुपर्छ तब मात्र पुनर्जीवन प्राप्त हुन सक्छ ।
0 प्रतिकृया