Follow us:


Follow us

२१ कार्तिक २०८२, बिहिवार
२१ कार्तिक २०८२, बिहिवार


तिलकुमार थापा जसलाई जुंगाले नै देश विदेश चिनायाे

एक्सन खबर
असोज, ११, २०८२




तिलकुमार थापा जसलाई जुंगाले नै देश विदेश चिनायाे

काठमाडौं । धेरै पुरुषहरुले दाह्री–जुंगा पालेका हुन्छन् । तर काठमाडौंका तिलकुमार थापाले भने यही दाह्री–जुंगाकै कारण बलियो परिचय बनाएका छन् । त्यसकारण उनलाई धेरैले तिलकुमार थापाको नामले नभई जुंगे थापा नामले चिन्दछन् । काठमाडौंको सुविधानगर तीनकुनेमा बस्ने थापाले आठ वर्षदेखि निक्कै मेहनतका साथ जुंगा पाल्दै आएका छन् । यही जुंगाकै कारणले उनले आफूलाई देशविदेशमा पनि परिचित हुने मौका पाएका छन् ।

देस विदेशबाट पनि यही जुंगाकै कारण मलाई भेट्न आउनेहरु धेरै छन्, आफूलाई भेट्न आउने विशिष्ट व्यक्तिहरुको तस्वीर देखाउँंदै उनले भने, ‘यही जुंगाकै कारण मलाई संघीय संसदका उपसभामुख इन्दिरा राणामगर लगायतले भेट्न आउनुभएको थियो ।’

उनले राणासहित गणतान्त्रिक व्यवस्थाको पहिलो राष्ट्रपति डाक्टर रामवरण यादव, वरिष्ठ कलाकार तुल्सी घिमिरे, पत्रकार, कलाकार तथा बहुप्रतिभाशाली व्यक्तित्व सन्दीप क्षेत्री, नायक सुमित ढुंगानालगायतले आफूलाई भेटन आउँंदाका तस्वीर भित्ताभर सजाएका छन् । साथै आफना एकल जुंगे तस्वीरहरु पनि उनले दर्जनको हाराहारीमा भितामा टाँंगिराखेका छन् । ‘मेरो यही जुंगाकै कारण वरिष्ठ कलाकार तुल्सी घिमिरे मलाई विदेशदेखि नेपाल आएर भेट्न आउनुभएको थियो’-उनले सम्झे । 

उनको जुंगा झण्डै एक फिट लामो छ । अरु बेला उनी त्यो जुंगालाई दुवै कानमाथि राखेर मिलाएर राख्छन् । कसैले हेर्न चाहेमा कानबाट झिकेर देखाउँंछन् । ‘जुंगैले म परिचित मात्रै नभई प्रख्यात नै भएको कारण यो जुंगालाई अबका दिनमा पनि काट्दिन बरु पाल्छु’, उनले भने,’जुंगाकै कारण म टोलमा मात्रै होइन, देशैभरि चिनिएको छु ।’ उनले दाह्री भने पालेका छैनन् ।

जुंगालाई पाल्न सजिलो नभएको उनी सुनाउँंछन् । दिन विराएर सैलुन (कपाल, दाह्री जुंगा काट्ने पसल) मा जुंगा मिलाउन जाने गरेको उनले सुनाए । साथै जथाभावी तेलको प्रयोग गर्न नहुने पनि उनले जनाए । यही कारण मासिक १० पन्ध्र हजार पैसा यही जुंगा स्याहार्नमा जाने उनले सुनाए । यही जुंगाकै कारण पत्रकार श्रृषि धमलासँंग जनता जान्न चाहन्छन् कार्यक्रममा अन्तर्वार्ता पनि दिन पाएको उनले सम्झे । साथसाथै सामाजिक सञ्जालहरुबाट पनि आफू देशैभरि परिचित हुन पाएको उनले सम्झे ।

रामेछाप मन्थली नगरपालिकाका उनले २०५६ सालदेखि नेपाल प्रहरीमा जागिर खाएका थिए । तर त्यो बेला उनले जुंगा पाल्न थालेका थिएनन् । त्यसपछिबाट उनले १८ वर्ष नेपाल प्रहरीमै जागिर खाए । यो वीचमा उनले गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादवको सवारी चालक (उही प्रहरीको जागिरबाट नै) को रुपमा सेवा गरेर विताए । यही सेवाबाट उनले जागिर छोडे । यही सेवाकै कारण पनि उनी डा. यादवसँंग नियमित सम्पर्कमा छन् अहिले पनि ।

हाल भने उनी काठमाडौंको कोटेश्वर तीनकुने सुविधानगरमा पार्टनरशिपमा रेसुङ्गा फेमली रेष्टुरेन्ट सञ्चालन गरी बसेका छन् । यही रेष्टुरेन्टको साइन बोर्डमै आफनो जुंगे तस्वीर उनले राखेका छन् । यही कारण पनि उनको रेष्टुरेन्टले बजार पाएको छ । उनी भन्छन्, ‘जुंगेसँंग बसेर खान भनेर पनि धेरै आउँंछन् । म नभेटिए मेरै जुंगे तस्वीर हेरेर भए पनि जान्छन् ।’  त्यसाे त उनकाे रेसुङ्गा रेस्टुरेन्ट पनि लाेकप्रिय नै छ । टिपिकल लाेकल स्वादका परिकार पाइने भएकाेले प्रत्येक दिन सयाैं व्यक्तिहरू खानाका लागि रेसुङ्गा पुग्ने गरेका छन् । 

धेरै पुरूषहरुले आफनो पुरूषोत्वको लागि पनि दाही जुंगा पाल्ने गर्दछन् । कसैले सानका साथ सौखले पनि दाही जुंगा पाल्ने गर्दछन् । तर तिलकुमार जस्तो जुंगाकै कारण परिचित सायदै अरु होला ।















0 प्रतिकृया