Follow us:


Follow us

२१ कार्तिक २०८२, बिहिवार
२१ कार्तिक २०८२, बिहिवार


नेपाल इन्जिनियरिङ कलेजको वार्षिकोत्सवमा ६ जना कर्मचारीलाई सम्मान

एक्सन खबर
असोज, ९, २०८२




नेपाल इन्जिनियरिङ कलेजको वार्षिकोत्सवमा ६ जना कर्मचारीलाई सम्मान

भक्तपुर । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज ३१ वर्ष पुरा गरी ३२ औं वर्षमा प्रवेश गरेको छ । सन् १९९४ मा स्थापना भएको कलेजले ३१ औं वार्षिकोत्सवको अवसरमा ६ जना कर्मचारीहरुलाई सम्मान समेत गरेको छ । 

विगत २० वर्षदेखि कलेजमा अनवरत रुपमा कार्यरत उनीहरुलाई नगद सहित दोसल्ला र सम्मान पत्रले सम्मानीत गरिएको छ । यसरी सम्मानित हुनेहरुमा विकास खड्का, सुमित्रा शाक्य, जगन्नाथ अर्याल, प्रल्हाद न्यौपाने, अर्जुन थापा र शोभा खनाल रहेका छन् । सम्मानीत हुने कर्मचारीहरुलाई कलेज सञ्चालक समिति अध्यक्ष समेत रहनु भएका चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, प्राचार्य दुर्गाप्रसाद भण्डारी लगायतले सम्मान गर्नु भएको हो ।यससँगै कलेजले वार्षिकोत्सवकै अवसरमा चाँगुनारायण–४ स्थित ग्रामिण अपाङ्गता समन्वय समितिबाट सञ्चालित ग्रामिण अपाङ्गता विशेष विद्यालयलाई एक थान कम्प्युटर र प्रिन्टर समेत दिइएको थियो । विशेष विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहजताका लागि कम्प्युटर सेट प्रदान गरिएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी मेयर जीवन खत्रीले मुलुकको लागि दक्ष इन्जिनियर उत्पादन गर्ने सवालमा नेपाल इन्जिनियरिङ कलेजले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । विद्यार्थीलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्न कलेज प्रतिबद्ध रहेको जिकीर गर्दै मेयर खत्रीले कलेजलाई नेपालकै नमूना इन्जिनियरिङ कलेज बनाउन आफुहरु सक्रिय रहेको उल्लेख गर्नुभयो । 

कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले कलेज स्थापनाको ३१ औं वर्ष पुरा गर्दैगर्दा कलेजबाट आजसम्म दशौं हजार दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको बताउनु भयो । कलेजले स्थापना कालदेखि आजपर्यन्त गुणस्तरीय शिक्षा प्रदान गर्न सकेको बताउँदै आगामी दिनहरुमा पनि सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य लिइएको बताउनु भयो । पछिल्लो समय कक्षा १२ पास गरेपछी युवाहरु विदेसिइरहेको परिप्रेक्ष्यमा त्यसलाई रोक्नका लागि भएपनि क्वालिटी एजुकेशन र अध्ययन गर्दागर्दै इन्र्टनसिप गर्न पाउने व्यवस्थाहरु गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नेक इन्जिनियरिङ शिक्षाका लागि राष्ट्रय अन्तराष्ट्रिय प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा रहेको भन्दै प्राचार्य भण्डारीले त्यसलाई जोगाउन सबै पक्षले जिम्मेवारीका साथ काम गर्नुपर्ने बताउनु भयो । 

कार्यक्रममा कलेज सञ्चालक समिति सदस्य सोम प्रसाद प्रधान, नरेश खड्का, प्राध्यापक सावित्री त्रिपाठी लगायतले कलेजले इन्जिनियरिङ शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्राचार्य मोहनध्वज केसीले गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक समिति सदस्य सन्ताेष केसी, कलेजका विभागीय प्रमुख, प्राध्यापक तथा कर्मचारीहरूकाे उपस्थिति रहेकाे थियाे ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा इन्जिनियरिङ विधामा स्नातक तह तथा स्नातकोत्तर तहसम्मको अध्यापन हुने गरेको छ । शहरी भिडभाड र कोलाहल देखि टाढा शान्त तथा हरियाली वातावरणमा अवस्थित यस कलेजले प्रयोगात्मक शिक्षण विधि देखि पूर्णकालिन शिक्षक शिक्षिकाको समेत व्यवस्था गरेकोले देशका ७७ वटै जिल्लाहरुबाट विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् । 

कलेजमा स्नातक तहमा आर्किटेक्चर, सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल, कम्प्युटर, इन्फरमेशन एण्ड कम्युनिकेशन, इलेक्ट्रिकल एण्ड इलेक्टोनिक्स तथा सिभिल फर डिप्लोमा होल्डर्स विषयमा अध्यापन हुने गरेको छ । स्नातकोत्तर तहमा कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरडिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट विषयको अध्यापन हुने गरेको छ ।  
















0 प्रतिकृया