Follow us:


Follow us

२१ कार्तिक २०८२, बिहिवार
२१ कार्तिक २०८२, बिहिवार


विमला कुमारी कठायत जसले पशुपतिनगरलाई यसरी बनाइन् सुरक्षित

एक्सन खबर
भदौ, २९, २०८२




विमला कुमारी कठायत जसले पशुपतिनगरलाई यसरी बनाइन् सुरक्षित

काठमाडौं । भदौ २३ र २४ गते देशव्यापी रुपमा भड्किएको जेन-जीकाे आन्दोलनले नेपालको सुरक्षा संयन्त्रलाई संकटमा धकेल्दा मकवानपुरकाे इलाका प्रहरी कार्यालय पशुपतिनगरलाई भने एक प्रहरी निरीक्षककाे कार्यकुशलताले जाेगाएकाे छ । मकवानपुर जिल्ला इलाका प्रहरी कार्यालयकी प्रहरी निरीक्षक विमला कुमारी कठायतकाे कुशल नेतृत्वले इप्रका कार्यालयसँगै साे मातहतका प्रहरी चाैकीहरू भने आन्दोलनकारीकाे निशानामा पर्न सकेनन् । 

इलाका प्रहरी कार्यालयलाई जोगाउन कार्यालय प्रमुख प्रहरी निरीक्षक विमला कुमारी कठायतले देखाएको नेतृत्व, संयम, रणनीति र त्यहाँ कार्यरत प्रहरीहरूको अनुशासन निर्णायक सावित भएकाे भन्दै प्रशंसा भइरहेकाे छ । कठायतले स्थानीय समुदायसँग विगतदेखि नै मैत्रीपूर्ण र विश्वासपूर्ण सम्बन्ध विकास गरेकीले जेन-जीकाे आन्दोलनको आगो फैलिँदा स्थानीय बासिन्दाहरू नै प्रहरीसँगै उभिँदा साे क्षेत्रका प्रहरी कार्यालयहरू सुरक्षित भएका हुन् । त्यसाे त “प्रहरी मेरो साथी” भन्ने अवधारणा व्यवहारमै मूर्तरूप लिन सफल भएकाे याे उच्चतम उदाहरण हाे ।

हेटौंडा उपमहानगरपालिकाको १० वटा वडाहरू इलाका प्रहरी कार्यालय पशुपतिनगर मातहतमा पर्छन् । यही क्षेत्रमा हेटौंडा औद्योगिक क्षेत्र, हेटौंडा सिमेन्ट, शिवम सिमेन्ट र रिद्धिसिद्धि सिमेन्ट उद्योगजस्ता ठूला उद्योग छन् । बागमती प्रदेश सरकारका मन्त्रीहरूको निवास पनि यही क्षेत्रमा पर्दछ । अझ गम्भीर कुरा, नेपालकै धेरै अपराधजन्य गतिविधिहरू हुने पदमपोखरी क्षेत्र पनि यही छ ।

यस्तो संवेदनशील क्षेत्रमा आन्दोलनकारीले उद्योग, मन्त्री निवास र प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयास गर्दा कठायतले अपनाएको संयमता र "यो सम्पत्ति तपाईहरुकै हो" भन्ने चेतनामूलक अपिलले आन्दोलनकारीहरूकाे आक्रोशलाई शान्त बनाउन सकेकाे हाे । भदौ २४ गते बिहानैदेखि आन्दोलन सुरु हुनासाथ इप्रका पशुपतिनगर मातहतका सबै प्रहरीलाई उच्च सतर्कतामा राखिएकाे थियाे । कार्यालयमा रहेका प्रत्येक भौतिक सामग्री र हतियारलाई व्यक्तिगत जिम्मेवारीसहित प्रहरीहरूलाई हस्तान्तरण गर्ने निर्णय लिइएकाे थियाे भने, आन्दोलनकारी मन्त्री निवासमा छिर्न खोज्दा सम्झाइ-बुझाइ गरेर फर्काइयो । यसरी, प्रहरी कार्यालय मात्र नभई उद्योग, मन्त्री निवास र समुदाय समेत सुरक्षित राख्न सकिनु, नेपालको सुरक्षा संयन्त्रकै लागि गौरवको विषय भन्दै प्रहरी निरीक्षक कठायतकाे चाैतर्फी प्रशंसा भइरहेकाे छ । 

समुदाय र प्रहरीबीचको विश्वास, सहकार्य र साझेदारी नै वास्तविक सुरक्षा भएकाे ठहर गरिएकाे छ । ‘जब प्रहरी नागरिकसँग मिलेर काम गर्छ, तब प्रहरी कार्यालय मात्र होइन, सम्पूर्ण समाज सुरक्षित रहन्छ ।’ स्थानीयकाे धारणा छ । 

हेटौंडा उपमहानगरपालिका–१५ को वडा कार्यालयमा सामान्य भौतिक क्षति भए तापनि अन्य सबै क्षेत्रमा पूर्ण सुरक्षा रहनु र इलाका प्रहरी कार्यालय पशुपतिनगर मातहतका आठवटा प्रहरी कार्यालयहरूको पूर्ण संरक्षण हुनु, प्रहरी निरीक्षक विमला कुमारी कठायतको दूरदर्शी नेतृत्वकै प्रतिफल भएकाे जिकीर छ ।













0 प्रतिकृया