पूर्वप्रधानन्यायाधिश शुशीला कार्की इतिहासकै पहिलो महिला प्रधानमन्त्री
एक्सन खबर
काठमाडौं । मुलुकको इतिहासले पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । भदौ २३ र २४ गते जेन–जी पुस्ताले गरेको आन्दोलनको बलमा नेपालले पहिलो पटक महिला प्रधानमन्त्रीका रुपमा पूर्वप्रधानन्यायाधिश शुशीला कार्कीलाई पाएको हो ।
शुक्रबार राती ९ बजे राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधिश कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्काे प्रधानमन्त्री पदको सपथ गराउने तय छ । २००९ साल जेठ २५ गते मोरङको शंकरापुरमा जन्मनु भएकी नवनियुक्त प्रधानमन्त्री कार्कीले २०२८ सालमा बिराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट बीए पास गर्नु भएको छ । भने, २०३१ सालमा बनारसको हिन्दु बिश्वविद्यालयबाट राजनीतिशाष्त्रमा स्नातकोत्तर गर्नु भएको छ ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम अनुसार अब नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बस्ने मन्त्रिपरिषद्दे बर्तमान प्रतिनिधि सभा विघटन गर्ने सिफारिस गर्ने र त्यसलाई राष्ट्रपतिले प्रमाणित गर्ने सहमति भएको छ । यसअघि कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति भएपनि संसद विघटन कसको सिफारिसमा गर्ने भन्नेबारे कुरा नमिल्दा उहाँको नियुक्तिमा ढिलाई भइरहेको थियो ।
कार्की जेन–जीले भदौ २३ र २४ गते गरेको सशक्त आन्दोलन पश्चात केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिएपछि संविधानको धारा ६१ अनुसार प्रधानमन्त्री बन्नु भएको हो । नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन ।
संविधानको धारा ६१ (१ र २)मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ । राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा उल्लेख गरिएको छ । राष्ट्रपति पौडेलले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारको विषय उल्लेख भएको धारा अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
पहिलो महिला प्रधानमन्त्री बनेसँगै शुशीला कार्कीसामू घोषित मितिमा निर्वाचन गराउनु, भदौ २३ र २४ गते जेनजी प्रदर्शन क्रममा भएका घटनाबारे छानबिन गर्ने, भ्रष्टाचार र नेताहरूका सम्पत्ति छानबिन गर्ने दायित्व रहेको छ ।
0 प्रतिकृया