Follow us:


Follow us

९ असोज २०८३, शुक्रवार
९ असोज २०८३, शुक्रवार


द्वन्द्व न्यूनीकरण गरी वार्ताको बाटो रोज्न इजरायललाई सांसद चाैधरीकाे आग्रह

एक्सन खबर
असार, ५, २०८२


द्वन्द्व न्यूनीकरण गरी वार्ताको बाटो रोज्न इजरायललाई सांसद चाैधरीकाे आग्रह

काठमाडाैं । नेपालका लागि इजरायलका राजदूत श्मुलिक ऐरी बास र प्रतिनिधिसभाको संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक भगबती चौधरीबिच शिष्टाचार भेटवार्ता भएको छ । संसद सचिवालयकाे अर्थ समितिमा भएकाे शिष्टाचार भेटका क्रममा दुई देशबिचको मैत्री सम्बन्ध, कृषि, सूचना प्रविधि (आइटी), युवा रोजगार, तथा इजरायलमा रहेका नेपाली कामदारहरूको सुरक्षा लगायतका विषयमा विशेष छलफल भयाे । 

भेटमा संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समिति संयाेजक सांसद चाैधरीले पछिल्लाे समय इजरायल–इरान युद्धमा इजरायलमा रहेका नेपालीहरूकाे सुरक्षा प्रति चासाे र चिन्ता व्यक्त गर्नुुभयाे । ‘इजरायल र इरानबीचको पछिल्लो घटनाक्रमबारे हामी नेपालमा अवगत छौं । यसमा द्वन्द्व न्यूनीकरण गरी वार्ताको बाटो रोज्न म आग्रह गर्दछु ।’ चाैधरीले राजदूत बास समक्ष भन्नुभयाे । 

यस्तै उहाँले इजरायलमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षाको सुनिश्चितता गरिदिन पनि अनुराेध गर्नुभयाे । ‘इजरायल–हमासबीचको युद्ध चाँडै अन्त्य होस् भन्ने नेपाल सरकारको आशा छ । यस क्षेत्रमा दीर्घकालीन शान्ति स्थापनाको प्रयासमा नेपाल सकारात्मक रूपमा उभिएको छ ।’ सांसद चाैधरीले भन्नुभयाे । 

पूर्वमहिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री समेत रहनु भएकी चौधरीले नेपाल–इजरायल सम्बन्ध राजा महेन्द्रले सन् १९५८ मा इजरायलकाे भ्रमण गरेदेखि नै आत्मीय र सुमधुर रहेको उल्लेख गर्दै भविष्यमा यी सम्बन्धलाई अझ प्रगाढ बनाउने दिशामा संसद्को तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसपछि सन् १९६० मा प्रधानमन्त्री वीपी काेइरालाले इजरायलकाे भ्रमण गरेपछि दुइ देशविचकाे सम्बन्ध झनै प्रगाढ भएकाे र यस्ता उच्चस्तरीय राजनीतिक भ्रमणहरूले द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग गरेको सांसद चाैधरीले बताउनु भयाे । 

राजदूत बासले नेपालको समृद्धिका लागि इजरायल सरकार सधैँ सकारात्मक रहेको बताउँदै दुवै देशबिचको सहकार्यलाई प्रवर्द्धन गर्न आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । भेटमा कृषि, ऊर्जा तथा नव प्रवर्द्धनात्मक विकासका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा पनि गम्भीर र सौहार्दपूर्ण कुराकानी भयाे । राजदूत बासले नेपालबाट कृषि क्षेत्रमा राेजगारीका लागि इजरायल गएका युवाहरूले त्यहाँकाे व्यवसायिक कृषि प्रविधिबाट धेरै सीप सिकेकाे बताउनु भयाे ।

नेपालकाे कृषि क्षेत्रकाे व्यवसायीकरण, यान्त्रिकीकरण, नवप्रवर्द्धन, सूचना र प्रविधिका क्षेत्रमा इजरायल सदैव सहकार्य गर्ने र त्यसले दुइ देश विचकाे आपसी सम्बन्ध अझ सुदृढ हुने राजदूत बासकाे विस्वास छ । उहाँले इजरायल र हमास विचकाे द्वन्द्वबाट इजरायलमा कार्यरत नेपालीहरूकाे सुरक्षाका लागि इजरायली सरकार दृढ रहेकाे प्रष्टयाउनु भयाे । 















0 प्रतिकृया