सांसद सुनिल शर्मा स्वास्थ्यकर्मीको टोली सहित बाग्लुङमा (फोटो फिचर)
एक्सन खबर
काठमाडौं । विशेषज्ञ स्वास्थ्य टोली सहित देश दौडाहामा रहेका नेपाली कांग्रेसका प्रभावशाली सांसद डाक्टर सुनिलकुमार शर्मा बाग्लुङको बडी गाउँपालिका पुगेका छन् । बडी गाउँपालिकामा शनिबार आयोजित बृहद् निःशुल्क स्वास्थ्य शिविरमा झण्डै २ हजार सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन् ।
शिविरमा १९५० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको काठमाडौं मेडिकल कलेजका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १४७ जनाको इसिजी, २०९ जनाको ल्याब परीक्षण, २०५ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, ८५ जनाको इको गरिँदा ४५ जनाको भने दाँत खोलिएको छ । शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका मध्ये ११० जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको केएमसीका जनरल मेनेजर दाहालले जानकारी दिए ।
बडी गाउँपालिकाका प्रमुख गण्डकी थापा अधिकारीको सभापतित्वमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै सांसद शर्माले गरिब, विपन्न र दुर्गम क्षेत्रमा रहेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न आफुले विशेषज्ञ स्वास्थ्यकर्मी सहितको स्वास्थ्य शिविर ल्याएको बताए । सामाजिक उत्तरदायित्व अन्तरगत सेवाभावले आफु स्वास्थ्य क्षेत्र र राजनीतिमा लागेको बताउँदै जनताका हरेक सुख दुःखमा सदैब साथ दिने बताए ।
शिविरमा गण्डकी प्रदेश सभा सदस्य जितबहादुर शेरचन, सांसद डिल्ली सुवेदी, सुभाष पोखरेल, केएमसीका जनरल मेनेजर दाहालले समेत बोलेका थिए ।
पछिल्लो समय डा. शर्मा दूरदराजमा रहेका गरिब, विपन्न, असहाय नागरिकको स्वास्थ्य सेवामा दत्तचित्त छन् । काठमाडौं मेडिकल कलेजका सञ्चालक समेत रहेका डा. शर्माले चलाएको निःशुल्क स्वास्थ्य शिविरबाट देशका सातै प्रदेशका विभिन्न जिल्लाका नागरिकले स्वास्थ्य लाभ लिइरहेका छन् ।
0 प्रतिकृया