Follow us:


Follow us

२२ जेठ २०८३, शुक्रवार
२२ जेठ २०८३, शुक्रवार


पर्यटन मन्त्रालयकाे अधिकृत भन्दै कारमा आएर मदिरा चोरी गर्ने पक्राउ

एक्सन खबर
मंसिर, १३, २०८०


पर्यटन मन्त्रालयकाे अधिकृत भन्दै कारमा आएर मदिरा चोरी गर्ने पक्राउ

धरान, १३ मंसिर । आफुलाई पर्यटन मन्त्रालयको शाखा अधिकृत बताउँदै कारमा सवार भएर आएका एक ब्यक्ति मदिरा चोरी गरेको आरोपमा पक्राउ परेका छन् । सुनसरीको धरान बजारका विभिन्न पसलबाट आफु पर्यटन मन्त्रालयको शाखा अधिकृत हुँ भन्दै ब्रान्डेड मदिरा माग्ने र मौका परे चोर्दै समेत हिँड्ने गरेको आरोपमा विकास साह पक्राउ परेका हुन् ।
 
धरानका फरक फरक मदिरा पसलमा उनले आफूलाई पर्यटन मन्त्रालयको शाखा अधिकृत र बीपी प्रतिष्ठानको डाक्टर हुँ भन्ने गरेका पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । कारमा सवार हुने उनले दर्जनौं व्यवसायीलाई ठग्नुका साथै ब्रान्डेड मदिरा चोरेर हैरान पारेको अनुसन्धानबाट खुल्नमा आएको छ ।

साह मंगलबार मदिरा व्यवसायीकै फन्दामा परेका हुन् । उनलाई धरानको भानुचौकमा मदिरा चोर्दाचोर्दै नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाइएको धरानस्थित मनकामना कोल्ड स्टोरका सञ्चालक रमेश हतुवालीले बताए । उनले केही दिनयता धरानका मदिरा पसलहरूमा ‘मोबाइल पे गर्छु’ भन्दै ब्राण्डेड रक्सी लिएर भाग्ने गरेकाे व्यवसायीले बताएका छन् ।

भानुचोकबाट पक्राउ परेका उनले मदिरा पसलका मालिकहरू नभएको मौकामा रक्सी किन्ने बहाना गर्दै चोरेर हिँड्ने गरेको हतुवालीले बताए । साहले मंगलबार बीपी प्रतिष्ठानस्थित निर्भाना कन्ट्री क्लबबाट ब्याक लेबल लिएर हिँडेका थिए । सोमबार धरान–७ भानुचौकको मनकामना कोल्ड ड्रिङ्क्समा ब्ल्याक चिम्नी र ओल्ड दरबार लिएपछि ‘मोबाइल पे गर्दिन्छु’ भन्दै हिँडेका थिए ।

धरान १५ श्याम चोकस्थित एक पसलमा मदिरा लिएर मोबाइल पे गर्छु भनेपछि मालिकले भुक्तानी नहुन्जेल हुँदैन भनेर रोकेका थिए । त्यहाँबाट हिँडेका साहलाई व्यवसायीले निगरानीमा राखेका थिए । त्यसबीचमा उनी चोरेको मदिरा बेच्न सोमबार भानुचोकस्थित बाबा कोल्ड ड्रिङ्क्समा पुगे । त्यहाँका कर्मचारीहरूले मालिक नभएको बताउँदै फिर्ता पठाए । मंगलबार फेरि चोरीको मदिरा बेच्न फेरि पुगेपछि प्रहरीको जिम्मा लगाइएको बाबा कोल्ड ड्रिङ्क्सका मालिक श्रवण गुप्ताले बताए ।

साहले चोरीको सिग्नेचर ह्विस्की बेच्न बार्गेनिङ गरेका थिए । शंकास्पद गतिविधि गरेपछि मदिरा व्यवसायी सङ्घको सूचनाका आधारमा उनी समातिएका हुन् । साह मदिरा चोरी र ठगीका लागि बा ७ च ४४८० कार चढेर आउने गरेका थिए । उनीसँग संस्कृति, पर्यटन मन्त्रालयको शाखा अधिकृतको नक्कली परिचय पत्र पनि भेटिएको छ । मदिरा व्यवसायीले समात्दा उनले आफूलाई डाक्टर बताउँदै छाडिदिन अनुनय गरेका थिए । साहबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
















0 प्रतिकृया