दुर्गा प्रसाईं नयाँ तत्वकाे शिखण्डी, एमाले स्पातः केपी शर्मा ओली
एक्सन खबर
विरगञ्ज, ५ मंसिर । मुलुकमा चौतर्फी रुपमा बेथिति र अराजकता बढ्दै गएकोले यसलाई रोक्न सरकार गम्भीर हुनुपर्ने नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । विकास, सुशासन र समृद्ध नेपालका लागि सबै एकताबद्ध भएर अगाडी बढ्नुको विकल्प नभएको बताउँदै पछिल्लाे समय मुलुकमा अराजकता बढ्दै गएकाे जिकीर गर्दै अध्यक्ष ओलीले सामाजिक सद्भाव कायम गर्न गठबन्धन सरकार असफल भएकाे उल्लेख गरे ।
नेकपा एमाले पर्साद्वारा आज पोखरियामा आयोजित वृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा चौतर्फी रुपमा बेथिति र अराजकता बढ्दै गएको हुँदा यसलाई रोक्न सरकार गम्भीर हुनुपर्ने जोड दिएका हुन् । राष्ट्रियता, विकास, सुशासन, भ्रष्टाचार मुक्त समाज निर्माण, सामाजिक सद्भावबाटै समृद्ध नेपाल र सुखी नेपाली हुन सक्ने बताउँदै देशलाई समृद्धिको बाटोमा अगाडी बढाउन एमालेको विकल्प नभएको ओलीकाे भनाइ छ ।
भगवान् रामको जन्मभूमि ठोरी भएको बताउँदै अध्यक्ष ओलीले १ सय ५० वर्ष अघि भारतको फैजावाद रहेको ठाउँलाई अहिले अयोध्या बनाइएको र खास राम जन्मेको स्थान ठोेरीसँगै जोडिएको माडीको अयोध्यापुरी भएको जिकीर गरे । ‘अहिले भारतले राम मन्दिर बनाइरहेको अयोध्या भगवान् रामको जन्मभूमि हुँदै होइन । किनकि अयोध्या डेढ सय वर्ष पहिलेसम्म फैजलावाद थियो । वास्तविक राम जन्मभूमि त नेपालको ठोरी हो भन्ने कुरा धर्मशास्त्रमै उल्लेख छ ।’ उनले भने ।
२०८४ को निर्वाचन पश्चात् एमालेले एकल बहुमतको सरकार बनाउने दाबी ओलीले गरेका छन् । पार्टीले अहिले देशभर सङ्गठन विस्तारको अभियान चलाइरहेको र २०८४ को चुनावमा एमालेको एकल बहुमतको सरकार बन्ने ओलीकाे दाबी छ । ‘आउँदो २०८४ चुनावमा एमालेलाई कुनै पनि शक्तिले हराउन नसक्ने गरी सङ्गठनलाई मजबुत बनाइरहेका छौँ । हामी मिसन २०८४ मा लागेका छौँ । २०८४ को चुनावमा देशभर एमालेको विजय पताका फहराउँछ ।’ ओलीले भने ।
एमाले बाहेक कुनै पनि पार्टीले देशलाई समृद्ध बनाउन नसक्ने बताउँदै ओलीले देशलाई अहिलेको बेथिति र विसङ्गतिबाट बाहिर निकाल्न एमाले सरकारको विकल्प नै नभएको जिकीर पनि गरे । आफ्नो नेतृत्वको सरकारमा छिमेकी मुलुकहरूसँग दबिएर होइन समान हैसियत बनाएर अगाडि बढ्ने नीति एमालेले लिने बताउँदै उनले अहिलेको गठबन्धनको सरकारका कारण चरम बेथिति, भ्रष्टाचार र आर्थिक मन्दी बढ्दै गएकाले यस्ता समस्याबाट देशलाई बाहिर निकाल्न पनि मुलुकमा एमाले नेतृत्वको सरकार नै आवश्यक भएको तर्क गरे ।
पछिल्लाे समय मेडिकल व्यवसायी दुर्गा प्रसाईँले उठाएकाे विषय प्रति टिप्पणी गर्दै ओलीले प्रसाईंलाई नयाँ तत्त्वको शिखण्डीको संज्ञा दिए । ‘अहिले देशमा केही नयाँ तत्त्वहरू उफ्रिइरहेका छन् । अहिलेको गठबन्धनको सरकारको बेथितिका कारण नै त्यस्ता शिखण्डीलाई एमालेले गन्दा पनि गन्दैन । किनकि एमाले सिसाको गिलास होइन जुन कतै ठोकियो भने पिटिक्कै फुटी हाल्ने । एमाले त्यस्तो इस्पात हो जुन घनले हान्दा पनि टसमस हुँदैन । त्यसैले अहिले उफ्रिइरहेका नयाँ शिखण्डीहरूको एमालेले मतलब नै राख्दैन ।’
कार्यक्रममा पप्पु कन्स्ट्रक्सन पूर्व सञ्चालक हरिनारायण रौनियार जनता समाजवादी पार्टी नेपाल त्यागेर एमालेमा प्रवेश गरेका थिए । २०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवी लगायत विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।
एक वर्षदेखि जसपामा निष्क्रिय रहेका रौनियारले केही दिन अगाडि एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका थिए । सो क्रममा उनले एमाले प्रवेश गर्ने प्रस्ताव राखेका थिए । ओलीले रौनियारको प्रस्ताव स्वीकार गरेपछि आज पोखरियामा आयोजित कार्यक्रमबिच उनी एमाले प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै पप्पु कन्स्ट्रक्सन संस्थापक अध्यक्ष समेत रहेका रौनियारले जसपा र त्यसका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दा बिर्सिएर निजी स्वार्थमा लागेकाे आरोप लगाए । जसपामा मधेस र मधेसी जनताको हक अधिकार भन्दा पनि सत्ताको लोभमा बढी देखिएको कारण आफूले जसपा त्यागेर एमाले प्रवेश गरेको उनकाे भनाइ छ । उनले एमाले अध्यक्ष केपी ओलीबाटै देशको विकास र समृद्धि सम्भव रहेका कारण पनि आफू एमाले प्रवेश गरेको बताए ।
कार्यक्रमलाई एमाले केन्द्रीय सचिव योगेश भट्टराई, रघुवीर महासेठ, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, पूर्व मन्त्री ज्वाला साह, अच्युत मैनाली, केन्द्रीय सदस्यहरू अरविन्द सिंह, राजकुमार गुप्ता लगायतले सम्बोधन गरेका थिए ।
0 प्रतिकृया