एसपीका कारण जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दलालको बिगबिगी
एजेन्सी
सर्लाही, ४, मंसिर । सर्लाही प्रहरी प्रमुखमा एसपी प्रवीण धिताल आएसँगै जिल्ला प्रहरी कार्यालय मलंगवामा दलालको बिगबिगी र पहुँच ह्वात्तै बढेको छ । जिल्ला प्रहरी कार्यालय मलंगवा आम सेवाग्राहीको पहुँचमा नभई दलाल र तस्करको अड्डा बनेको हाे ।
एसपी धितालले सेवाग्राहीलाई कार्यालय समयमा पनि जिल्ला प्रहरी कार्यालयमा सहज प्रवेशमा रोक लगाएका छन् । भने, दलाल र तस्करलाई प्रवेशमा चौबीसै घण्टा निर्वाध छुट दिएकाले कार्यालय परिसर दलालहरूकाे अड्डा जस्तै भएकाे छ ।
सर्लाहीमा शान्ति सुव्यवस्था कायम राख्नुको सट्टा एसपी धितालले कानुनको आडमा सर्वसाधारण जनतालाई अनावश्यक दुःख दिने गरेको र सर्लाहीका आम जनताहरु एसपी धितालको काम कारबाहीबाट आजित भइसकेको स्थानीयहरुले बताएका छन् । ‘उहाँकाे कार्यशैली ठिक भएन, सर्वसाधारणहरू आफ्ना समस्या लिएर जाँदा झर्कने, वास्ता नगर्ने गर्नुहुन्छ । दलाल र विचाैलियाहरू गएभने खातिरदारी गर्नुहुन्छ ।’ मलंगवाका एक स्थानीय भन्छन् ।
यसअघिका एसपी नरेशराज सुवेदी जनताको समस्याको समाधान आफनै कमान्डमा स्वस्फूर्त रुपमा गर्ने गरेका थिए तर एसपी धिताल सर्लाही आए देखि जिल्ला प्रहरी कार्यालयको माहोल फेरिएको छ । कार्यालयको हाताभित्र सेवाग्राही भन्दा दलाल र तस्करकै बढी भिडभाड रहेको जनताकाे गुनासाे छ ।
एसपी सुवेदीले पारदर्शी काम कामकारबाही गर्न गराउन बनाइएको नीति निर्देशन लत्याउँदै पुरानै रवैयामा फर्केको जिल्ला प्रहरी कार्यालयमा अहिले दलाल र तस्करको बिगबिगी र कर्मचारीको ब्यवहारले यसअघि खडा गरिएको सिस्टम ब्रेक भएको छ ।
विभिन्न बहानामा कार्यालयका कर्मचारीहरुले सेवाग्राहीलाई हैरान बनाउने गरेका छन् । कार्यालयमा दलाल र तस्करको पहूँच कार्यालयका महत्वपूर्ण फाईल राखिएको कोठासम्म पुगेकाे स्रोतकाे भनाइ छ ।
0 प्रतिकृया