Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


आज छठ पर्वको दोस्रो दिन खरना मनाइँदै

एक्सन खबर
मंसिर, २, २०८०


आज छठ पर्वको दोस्रो दिन खरना मनाइँदै

काठमाडाैं, २ मंसिर । छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ । आदिदेव सूर्यको उपासना गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा तराइ मधेशबाट पहाडी क्षेत्रहुँदै देशभर फैलिइरहेकाे छ ।

सन्तान एवं पारिवारिक सुख समृद्धिको कामना गरी चार दिनसम्म मनाइने छठ हिजो शुक्रबारदेखि नहाय खाय विधिबाट सुरु भएको हाे । पहिलो दिन ब्रतालुहरुले नुहाएर अरबा अरबाइन एवं चोखो भोजन गर्छन् ।

दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाकासाथ खीर बनाएर प्रसादको रुपमा घरपरिवारका सदस्यहरुले ग्रहण गर्नुको साथै पर्व नहुनेको घरमा समेत वितरण गर्ने चलन छ ।

तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यको अर्घ्य दिइन्छ । यो दिनलाई सौझकारक पनि भनिन्छ । सोमबार बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्व विधिवत रूपमा समापन हुनेछ ।

अस्ताउँदो सूर्यको अर्घ्य दिने दिनलाई सौझकारक र उदाउँदो सूर्यलाई अर्घ्य दिने दिनलाई पारन भनिन्छ । यी दुई दिन छठका मुख्य दिन हुन् । यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ भने, प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवतालाई चढाउने गरिन्छ ।

अर्घ्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा लिइन्छ । सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ ।

अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।













0 प्रतिकृया