‘गृह र अर्थमन्त्रीको राजीनामा मागेकै समयमा सांसद शर्मा पक्राउ पर्नु संयोग मात्र हो ?’ कांग्रेस नेता अर्जुननरसिंह केसी
एक्सन खबर
काठमाडौँ । आफ्ना पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ परेपछि नेपाली कांग्रेस पार्टीका नेताहरू गृहमन्त्री र अर्थमन्त्री प्रति सशङ्कित हुन पुगेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पछिल्लाे समय १ सय केजी सुन तस्करी प्रकरणमा ‘कडा’ रूपमा प्रस्तुत हुँदै आएका सांसद शर्मालाई करिब ३० वर्ष अघिको नक्कली सर्टिफिकेट प्रकरणमा हाल पक्राउ गरेपछि सत्तारुढ कांग्रेसका नेताहरू सशङ्कित हुन पुगेका हुन् ।
कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सो पक्राउ प्रकरणलाई लिएर ‘सुन तस्कर’हरुलाई प्रोत्साहन गरेको त होइन ? भन्ने आशङ्का व्यक्त गरेका छन् ।
‘भारतको बीडीबीकेएस कलेज बाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्र बारे को छानबिन ‘अपरेसन क्वाक’ ले ७ वर्ष अघि नै अनुसन्धान सुरु गर्यो र छाड्यो, त्यही केस हाल आएर सिआईवी ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनिल शर्मालाई पक्राउ गरेको छ,’ केसीले सामाजिक सञ्जालमा भनेका छन्, ‘संसदमा सुन तस्करी काण्डविरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण पुनः युद्ध स्तरमा ताते को हो ? या संयोग मात्र हो ? यो गम्भीर र आम चासोको विषय बनेको छ ।’
सांसद शर्मालाई बिहीबार नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूराेले उनकाे निवासबाटै पक्राउ गरेकाे थियाे । बहालवाला सांसदलाई संसद चलिरहेकै बेला पक्राउ गर्दा संसद सचिवालयलाई जानकारी गराउनु पर्नेमा प्रहरीले पहिला पक्राउ गरेपछि मात्र सचिवालायलाई जानकारी गराएकाे थियाे ।
याे पनि
प्रचण्डले सांसद सुनिल शर्मालाई पक्राउ गरेर नयाँ आतंक श्रृजना गरेः प्रकाश रायमाझी
ब्यूराेले नक्कली सर्टिफिकेट प्रकरणमा सांसद शर्मासँगै महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा.रामबाबु यादव र डा.एरिना शाहलाई पनि पक्राउ गरेकाे छ । त्यस्तै गरी मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकारलाई पनि पक्राउ गरेकाे छ ।
0 प्रतिकृया