सरकारकाे भ्रष्टाचार विरोधी अभियानमा साथ, बागी उम्मेद्वारकाे कारवाही फुकुवा
एक्सन खबर
काठमाडौं- नेपाली कांग्रेसले सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने जनाएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले भ्रष्टाचारमा कोही दोषी नउम्किउन्, कोही निर्दोष नफसुन् भन्ने नीतिका भ्रष्टाचार अभियानमा कांग्रेसले सरकारलाई साथ दिने महामन्त्री विश्वप्रकाश शर्माले बताए ।
कांग्रेसको साउन २ गतेदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशीध्र पारित गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ । संसद्मा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशीघ्र पारित गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको हो ।
यस्तै, कांग्रेसले गत निर्वाचनमा बागी उम्मेदवारी दिएर निर्वाचित भएका १४ जनाको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेर जितेका १४ जना नेताको कारबाही फुकुवा गरेको छ ।
कांग्रेसले बागी उम्मेदवारी दिएर प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका जंगीलाल राय, देवेन्द्रबहादुर शाही र नवराज शाहीको कारबाही फुकुवा गरेको छ । त्यस्तै, जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित भएका राजुसिंह कठायत र धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार शाहसहितको कारबाही फुकुवा गरेकाे छ ।
प्रल्हादकुमार क्षत्री, तारादेवी महतो, भोला खड्का, राम यादव, विजयकुमार महतो, विदेश्वर शाह, रूकुम तामाङ र लक्ष्मण सिंहको कारबाही फुकुवा गरेकाे छ ।
कांग्रेसले यही मंसिर ११ देखि १३ सम्म महासमिति बैठक बोलाउने निर्णय गरेको छ । कांग्रेसले नीति अधिवेशनका लागि आवश्यक काम गर्नका लागि महासमिति बैठक बोलाउने निर्णय गरेको महामन्त्री शर्माले जानकारी दिए ।
मंसिर २०७८ मा भएको कांग्रेसको १४औं महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो । कांग्रेस विधानमा नीति अधिवेशनसम्बन्धी व्यवस्था छैन ।
0 प्रतिकृया