गृह र अर्थमन्त्रीले राजीनामा नदिए संसदमै आमरण अनसन बस्ने सांसद सुनिल शर्माको घोषणा (भिडियाेसहित)
एक्सन खबर
काठमाडौं, १० साउन । क्विन्टल सुन काण्डका मुख्य नाइकेलाई पक्राउ नगरे आफु सदनभित्रै आमरण अनसनमा बस्ने सत्तारुढ दलका सांसद डा. सुनिलकुमार शर्माले चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद डा. शर्माले गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने समेत बताउँदै प्रधानमन्त्रीको आगमन पछाडी तोकिएको समयभित्र मुख्य नाइके पक्राउ नगरे आफु सदनभित्रै आमरण अनसनमा बस्ने बताए ।
‘म यो सदनबाट घोषणा गर्न चाहन्छु, सभामुख महोदय प्रधानमन्त्रीको आगमन पछाडी उहाँले लिएको डेटभित्र यदी भरियामात्रै पक्राउ पर्यो भने यो सदनभित्र म आमरण अनसन घोषणा गर्न चाहन्छु ।’ डा. शर्माले गृह मन्त्रालय, अर्थ मन्त्रालय अन्तरगतका निकायहरुको सुरक्षा घेराबाट सुन बाहिरिँदा गृह र अर्थमन्त्रीले अनविज्ञता प्रकट गरेर उम्कन नपाउने समेत बताए ।
चैत्र १७ गते अर्थमन्त्रीले सपथ खाएपछि बैशाख २० गते अर्थमन्त्री प्रकाशरण महतले अर्थसचिव परिवर्तन गरेको उल्लेख गर्दै जेठ १७ गते भित्रुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको प्रमुखसमेत परिवर्तन गरेपछि क्विन्टलका क्विन्टल सुन भित्रिएको तर्क गर्दै यो देशको गृहमन्त्री र अर्थमन्त्रीले यो विषय थाहा छैन भन्ने नैतिक अधिकार गुमाईसकेको जिकीर गरे ।
संसारका इतिहासमा विभिन्न प्रकरणहरु हुँदा राष्ट्रप्रमुख र मन्त्रीहरुले समेत नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानमा सहयोग गरेको दृष्टान्त प्रस्तुत गर्दै डा. शर्माले नेपालकै राजनीतिमा पूर्वअर्थमन्त्री डा. रामशरण महत, तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत राजीनामा दिएको चर्चा पनि गरे ।
‘भारतका रेल्वेमन्त्री लालबहादुर शाष्त्री, वाटरगट स्क्याण्डलमा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले नैतिकताका आधारमा राजीनामा दिनुभयो ।’ नेपालकै राजनीतिक इतिहासमा २०४६ सालपछि तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले डलर काण्ड र गणतन्त्रपछि प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डले रुक्माङ्गत कट्वाल प्रकरणमा राजीनामा दिएको उल्लेख गर्दै सुन प्रकरणमा मुख्य नाइके पत्ता नलागुञ्जेल अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिएर सहयोग गर्नुपर्ने बताए ।
सुन प्रकरणमा मुख्य दोषीलाई समय लिएर प्रक्राउ नगरे आफु संसदभित्रै आमरण अनसन बस्ने घोषणा गरेका डा. शर्माले यस विषयलाई सामान्य ढंगले नहेर्न पनि सभामुखलाई भने‘यो प्रश्न पक्ष वा प्रतिपक्षको हैन, कसैको नीजि पनि हैन, यो नेपाली जनतासँग सम्बन्धीत प्रश्न हो ।’ डा. शर्माले मुख्य अभियुक्तलाई सरकारले पक्राउ गर्न नसके त्यसको दोषको भागिदार संसद समेत हुने जिकीर गरे ।
0 प्रतिकृया