लालबहादुरको न्यायका लागि माइतीघरमा प्रदर्शन (फाेटाे फिचर)
एक्सन खबर
काठमाडौं, ३० असार । लाल बहादुर विश्वकर्माको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । सुनसरी जिल्ला अदालतबाट ठगी मुद्धामा १८ महिना जेल र ३ करोड १४ लाख ३३ हजार बिगो तिर्नुपर्ने सजाय पाएका इटहरी –१९ तरहराका गोपाल भनिने लालबहादुर विक निर्दोष रहेकाले उनलाई रिहा गर्नुपर्ने मागसहित प्रदर्शन गरिएको हो ।
उनीमाथि सुनसरी जिल्ला अदालत निर्मला योङ्गयाको इजलासले अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरी ठगी गरेको भन्दै ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो असुली र ठगी मुद्दामा ७० हजार जरिवाना तथा डेढ वर्ष कैदको सजाय तोकेको थियो ।
०७२ सालदेखि सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्सले बचतकर्ताको ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै २०७५ असार २० मा बचतकर्ता सुकमित गुरुङसहित ९ जनाले उजुरी हालेका थिए ।
असार २१ गते जिल्ला अदालत सुनसरीमा ज्वेलर्सविरुद्ध २ सय ७५ जनाबाट १० हजारदेखि १० लाख रुपैयाँसम्म रकम लिएर ठगी गरेको मुद्दा परेको थियो । सो मुद्धामा ज्वेलर्समा कालिगडका रूपमा काम गरिरहेका लालबहादुर विकलाई पनि विपक्षी बनाइएको थियो ।
उक्त मुद्दामा नै २०७८ पुस १९ गते आएको फैसलामा १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम हुँदा लाल बहादुरलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिवाना र १८ महिना जेल सजाय सुनाइएको थियो । उक्त मुद्दामा ज्वेलर्सका सञ्चालक तथा मुख्य प्रतिवादी दीपक गजमेर छन् भने अन्य प्रतिवादीमा दीपकका दिदि सीता विश्वकर्मा, बुबा कृष्णबहादुर विश्वकर्मा, भाइ कमल विश्वकर्मा र उनका कामदार लालबहादुर विक छन् । कमल विश्वकर्मा अहिलेसम फरार छन् भने अन्य सबै कारागारमा छन् ।
त्यसो त ‘प्रतिवादी गोपाल भन्ने लालबहादुर विश्वकर्मा ज्वेलर्सका कामदार हुन् र उनीबाट आफुहरु नठगिएको’ भनी मुख्य जाहेरवाला सुकमित गुरुङ सहित ७२ जना जाहेरवालाहरुले समेत बकपत्र गरेका छन् । लाल बहादुरका मालिक दिपक गजमेर, कृष्ण बहादुर विश्वकर्मा (दीपकका बुबा) र सीता गजमेर (दीपकका दिदि) ले लाल बहादुर विक पसलको कालिगढ मात्र रहेको र उनको यसमा कुनै संग्लाग्नता नरहेको भनी वकपत्र गरेका छन् ।
प्रतिवादी कृष्णबहादुर विश्वकर्मा गजमेरले अदालतमा सहप्रतिवादी लालबहादुर विश्वकर्मा आफुहरुको सुन पसलका कालिगड रहेको र छोराहरू पसलमा नहुँदा आफुलाई दस्तखत गर्न नआएकोले कालीगढ लालबहादुर विश्वकर्माले सिंहदेवी ज्वेलर्स इन्डस्ट्रिज प्रा.लि. लेखिएको पासबुकमा कन्चन चौधरीबाट जम्मा गरेको नगद पाँच लाख र अम्बिका अन्जना राईको जम्मा गरेको नगद १० लाख ७२ हजार लगायतका पासबुकमा दस्तखत गर्न लगाई सो रकम आफूले बुझिलिएको भनी वकपत्र गरेका छन् ।
0 प्रतिकृया