प्रधानमन्त्रीको स्पष्टिकरण: ‘छोरीको बुबा भएर बोलेँ’
एक्सन खबर
काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिले असहजता पुर्याएकोप्रति दुःख व्यक्त गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै उनले कसैलाई असहजता पार्ने आफ्नो मनसाय नरहेको बताए ।
सदन अवरुद्ध गर्ने शैलीलाई बदल्नुपर्ने भन्दै उनले संवाद र छलफलबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको पुस्तक विमोचन समारोहमा दिएको अभिव्यक्तिमा केही भावनात्मक भएको बताउँदै उनले सो कार्यक्रममा प्रधानमन्त्रीको हैसियतमा नभएर ज्ञानुको बुबा भएर बोलेको जानकारी दिए ।
प्रीतम सिंहले २०६७ सालतिर आफ्नो छोरी ज्ञानुको उपचार भारतमा गर्ने बेलामा निकै सहयोग गरेको स्मरण गराउँदै उनले भने, ‘मेरो छोरी ज्ञानुको उपचारका क्रममा भएका कुरा मैले त्यहाँ कुरा गरेको हुँ, नबोलेको भए पनि हुने थियो । म अलि भावुक बनेकै हुँ, तब न प्रचण्ड । त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानु (छोरी)को बुबा भएर बोलेँ । म अलिकति भावनात्क छु । म थोरै भावनामा आएँ ।’
प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्टीकरण दिने मौका संसदमा नदिएको बताए । आफू सुरुदेखि नै जवाफ दिने चाहेको भए पनि मौका नदिएको गुनासो गरे । ‘मलाई प्रष्टीकरणको मौकासमेत दिइएन,’ उनले भने, ‘मेरो राजीनामा मागियो । किन तीन दिन संसद अवरुद्ध गरियो ?’
विपक्षी दलले राजीनामा माग्नेबित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो र भन्दै प्रश्न पनि गरे । राप्रपाका राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने भनेपछि उनले राजीनामा माग्ने वित्तिकै दिनुपर्ने हाेर ? भन्दै प्रश्न गरे ।
प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिएसँगै एमालेबाट जारी अवरोध हटेको थियो । प्रतिनिधिसभा बैठक आगामी असार २९ गतेसम्म स्थगित भएको छ । प्रतिनिधिसभाको साेमबारको बैठकमा कार्यसूचीमा रहेका दुईदेखि पाँचसम्मका एजेन्डा सूचीमा हटाएर पूर्वसांसद लालकाजी गुरुङ्को शोक प्रस्ताव पारित गर्दै बैठक स्थगन भएको हो ।
0 प्रतिकृया