Follow us:


Follow us

१४ असोज २०८३, बुधवार
१४ असोज २०८३, बुधवार


सदस्यता शुद्धिकरणमा विभेद र हेलचेक्र्याइँ नगर्न चौतारीको चेतावनी

एक्सन खबर
असार, १८, २०८०


सदस्यता शुद्धिकरणमा विभेद र हेलचेक्र्याइँ नगर्न चौतारीको चेतावनी

विराटनगर, १७ असार । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणका क्रममा विभेद र हेलचेक्र्याइँ नगर्न प्रेस चौतारी नेपाल कोशी प्रदेशले पत्रकार महासंघलाई ध्यानाकर्षण गराएको छ । सदस्यता शुद्धिकरणका क्रममा जिल्ला शाखाहरूबाट विभेदपूर्ण निर्णय गरिएको गुनासो आएपछि प्रेस चौतारीले पत्रकार महासंघ कोशी प्रदेश कमिटीलाई विभेदपूर्ण निर्णय सच्याउन र हेलचेक्र्याइँ नगर्न ध्यानाकर्षण गराएको हो ।

प्रेस चौतारीका प्रदेश अध्यक्ष अबिजाल बिष्टले आइतबार पत्रकार महासंघका प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरेलाई सदस्यता शुद्धिकरणका विषयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । चौतारीको तर्फबाट ध्यानाकर्षण पत्र बुझाउँन प्रदेश अध्यक्ष बिष्ट, प्रदेश सदस्य सन्तोष सिग्देल, प्रेस चौतारीका धनकुटा अध्यक्ष रबिन कटेल, मोरङ अध्यक्ष सुदिप कोइराला, मोरङका पूर्वअध्यक्ष माधव अधिकारी लगायतको टोली विराटनगरस्थित पत्रकार महासंघको प्रदेश कार्यालय पुगेको थियो ।

सो क्रममा चौतारीका प्रदेश अध्यक्ष बिष्टले चौतारी सम्बद्ध योग्य सदस्यहरूलाई पनि रोक्ने र अन्य संगठन सम्बद्ध गैर पत्रकारलाई सदस्यताका लागि सिफारिस गर्ने काम भएको गुनासो आइरहेको जानकारी गराए । शुद्धिकरणका क्रममा सबै सदस्यहरूलाई समान आँखाले हेर्न आग्रह गर्दै उनले विभेदपूर्ण निर्णय भएमा प्रेस चौतारी आन्दोलनमा उत्रने चेतावनी दिए ।

चौतारीले बुझाएको ध्यानाकर्षण पत्रमा महासंघभित्र कुनै संगठनको बहुमतका आधारमा आफू नजिकका गैर पत्रकारलाई सदस्यता सिफारिस गर्ने र उस्तै प्रकृतिका अन्य संगठन आवद्ध सदस्यहरूलाई विभेद गर्ने काम भएको उल्लेख छ ।

सुनसरी, झापा, तेह्रथुम, संखुवासभा र पाँचथरबाट बढी गुनासो आएकाले ती जिल्लाको विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको छ । सदस्यता सिफारिस माथि महासंघले आव्हान गरेको उजुरीमा गोपनीयता कायम नगरिँदा समस्या सृजना भएको प्रति सचेत पनि गराइएको छ । महासंघले जारी गरेको शुद्धिकरण सम्बन्धी १५ बुँदे मापदण्ड पूर्ण रुपमा पालना गर्न माग गर्दै त्यसका लागि प्रेस चौतारी सहयोग र सहकार्य गर्न तयार रहेको पनि पत्रमा उल्लेख गरिएको छ ।

सो अवसरमा पत्रकार महासंघका प्रदेश अध्यक्ष घिमिरेले सदस्यता शुद्धिकरणका क्रममा कसैमाथि पनि विभेद नहुने स्पष्ट पारे । महासंघका प्रदेश महासचिव विवेक गौतमले शुद्धिकरणका क्रममा प्रदेशभरबाट १३७ वटा उजुरी प्राप्त भएकाले उजुरीमाथि छानविनको काम थालिएको जानकारी दिए ।













0 प्रतिकृया