आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाइँदै
एक्सन खबर
काठमाडाैं, ६ असार । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाइँदै विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन २१ तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।
सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।
उक्त प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समेत समर्थन गरेका थिए ।
सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा एक सय ७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।
नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।
यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।
वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन-अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो ।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप तथा अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।
माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले २०७२ साउन २८ गते तत्कालीन शान्ति मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।
योग र ध्यान साधनाका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ ।
नेपालमा जन्मिएका याेगका प्रवर्तक
हरेक वर्ष २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालिएपछि योगको चर्चासँगै यसका प्रवर्तक पतञ्जलिको सम्झना गर्न थालिएको छ । पतञ्जलिको जन्मको सम्बन्धमा एकमत नभएपनि उनको जन्म नेपालकै अर्घाखाँची जिल्लामा भएको कथन छ ।
पतञ्जलीको जन्मस्थान र संस्कृत भाषाका प्रसिद्ध व्याकरण शास्त्री पाणिनिको कर्मस्थान नेपाल हो । त्यो क्षेत्र अर्घाखाँची र प्युठानको सङ्गमतिर पर्छ । पाणिनिलाई इसापूर्व तीन हजार वर्ष र पतञ्जलिलाई दुई हजार वर्ष पूर्वका ठानिन्छ । पाणिनिले आफू जन्मेको ठाउँलाई शलातपुर भनेका छन् । त्यो अहिलेको पाकिस्तानस्थित लाहोर हो ।
उनी लाहोरबाट नेपाल आएर तपस्या गरेर अष्टाध्यायी व्याकरण लेखेका हुन् । त्यसका शास्त्रीय प्रमाणहरू भेटिएका छन् ।
0 प्रतिकृया