Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


जनता र कांग्रेसकाबीच दूरी बढेको छ : शेखर कोइराला

एक्सन खबर
जेठ, २६, २०८०


जनता र कांग्रेसकाबीच दूरी बढेको छ : शेखर कोइराला

चितवन, २६ जेठ । मुलुकको अग्रणी राजनीतिक पार्टीको रुपमा रहेको कांग्रेसले अहिले किन र कसका लागि भन्ने औचित्य पुष्टि गर्नुपर्ने बेला आएको सत्तारुढ नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन् । उनले पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमले कांग्रेसको भविष्य के हुने भन्ने प्रश्न र चासो बढिरहेको बताए ।

चितवनमा शुक्रबारदेखि सुरु भएको डेमोक्रेटिक लयर्स एशोसिएसनको ११औं महाधिवेशनमा बोल्दै नेता कोइरालाले जनता र कांग्रेसका बीचमा दूरी बढेको बताए । ‘हाम्रो संस्था नेपाली कांग्रेस यस मुलुकको अग्रणी राजनीतिक पार्टी हो । यसको ऐतिहासिक विरासत र रोमाञ्चित यात्राको गाथा कसैबाट लुकेको छैन । तर अहिले हरेक सार्वजनिक संस्था जस्तै हाम्रो दल किन र कसका लागि भन्ने औचित्य पुष्टि गर्नुपर्ने बेला भएको छ,’ उनले भने ।

नेता कोइरालाले कांग्रेसले प्रस्ट विचार र कार्यक्रमका साथ जनताको बीचमा जान नसके थप औचित्य गुमाउँदै जाने बताए । ‘पछिल्ला दिनमा विकसित राजनीतिले हाम्रो भविष्य के हुने भन्ने चासो बढेर गएको छ । यतिबेला हाम्रासामु चुनौतीको चाङ छ ।’ डा. काेइरालाले भने ।

पार्टी अधिवेशन, स्थानीय निर्वाचन, आम निर्वाचन र उपनिर्वाचनले कांग्रेसका चुनौती र अवसरलाई स्पष्ट गरिदिएको बताउँदै उनले कांग्रेस जनतासँग टाढिएकाे पनि जिकीर गरे । ‘यो दुःखद् कुरा हो, जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता हो । पार्टीको आन्तरिक सुशासन, लोकतन्त्रको स्थिति र हाम्रो जनताको बीचको स्थितिलाई सही ढंगले जोड्न सकेनौं भने हामीले हाम्रो औचित्य गुमाउँदै जानेछौं ।’

नेता कोइरालाले पछिल्लो पटक तीनै तहका न्यायालयले दोषी करार गरेका दुई दर्जनले आममाफी पाएको भन्दै कानुनी शासनमा यस्तो उन्मुक्ति अभ्यासलाई कसरी बुझ्ने भन्ने प्रश्न उठिरहेको बताए । ‘लोकतन्त्रमा कुनै व्यक्ति, संस्था वा समुदाय कानुनभन्दा माथि हुँदैन भन्ने सन्देश हामीले प्रवाह गर्न सक्दा मात्रै आमजनताले देशको राजनीति र राजनीतिज्ञलाई हेर्ने दृष्टिकोणमा सकारात्मक सन्देश जान सक्छ । हाम्रो संविधानले कानुनी शासनमा सबैलाई समानताको हक दिएको छ, तर पनि दण्डहिनता बढेर गएको छ र उन्मुक्ति पाउने अवस्था अझै विद्यमान छ,’ उनले भने ।

कोइरालाले कानुनको उल्लंघन नगरी कसैलाई दण्ड नदिनु र कानुन उल्लंघन गर्दा सबैलाई समान दण्डको व्यवस्था गर्नु भन्ने संविधानवादको साधारण मान्यतालाई भुल्न नहुने बताए ।













0 प्रतिकृया