Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


आज विश्व वातावरण दिवसः नेपालमा पनि मनाइँदै

एक्सन खबर
जेठ, २२, २०८०


आज विश्व वातावरण दिवसः नेपालमा पनि मनाइँदै

काठमाडौं, २२ जेठ । आज विश्वभर विश्व वातावरण दिवस मनाइँदै छ ।  ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा पनि याे दिवस मनाइँदै छ । नेपालमा सरकारी तथा गैरसरकारी तवरबाट याे दिवस मनाइँन्छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिँदै स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन प्रण गर्नुपर्ने बताएका छन् । सबैले आफ्नो घर वरिपरी रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने राष्ट्रपतिकाे भनाइ छ ।

मानव जातिको महत्वाकांक्षा बढ्दै जाँदा भएको प्रकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रासका साथै बढ्दो प्रदूषण आज चुनौती बनेको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि शुभकामना व्यक्त गरेका छन् । वर्तमान वैश्विक जगतको सबैभन्दा महत्त्वपूर्ण वातावरणीय चुनौतीहरूमध्ये एक प्लास्टिक प्रदुषणलाई  प्रमुखताका साथ उजागर गर्ने गरी दिवस मनाउन गइरहेकाे जनाउँदै प्रधानमन्त्रीले प्लास्टिक आधुनिक जीवनको अभिन्न अंग बनिसकेको र उद्योगमा क्रान्ति ल्याएको, दैनिक सुविधाहरूमा सुधार गरेपनि प्लास्टिककाे अत्याधिक र अव्यवस्थित प्रयोगले ठूलो वातावरणीय समस्या सिर्जना गरेको जनाएका छन् ।

‘हाम्रा महासागरहरू, ल्यान्डफिल साइटहरू, समथर भूमि, पहाडी, उच्चपहाडी र हिमाली क्षेत्रहरु जताततै प्लास्टिकको फोहोरले भरिएका छन्, जसले मानव स्वास्थ्य र समग्र पारिस्थितिक प्रणालीलाई अपरिवर्तनीय क्षति पुर्‍याउने खतरा बढ्दै गइरहेको छ ।’ वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को प्रभावकारितामा वृद्धि गर्दै लगिने बताउँदै प्रधानमन्त्रीले भनेका छन् ।

प्रत्येक वर्ष, विश्वव्यापी रूपमा चार सय मिलियन टनभन्दा बढी प्लास्टिकका सामाग्रीहरू उत्पादन हुने गरेको र यसको ठूलो हिस्सा विभिन्न नदी प्रणाली हुँदै महासागरहरूमा पुग्ने गरेको छ । यसले पारिस्थितिक प्रणालीलाई समेत नराम्रोसँग असर पुर्‍याउन सक्ने देखिएको हुँदा यसको नकारात्मक प्रभावसँग जुध्ने प्रयासस्वरुप संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा प्लास्टिक प्रदूषण सन्धि सम्बन्धी कार्य भइरहेको र यसमा नेपालको समेत सहभागिता रहँदै आएको छ ।













0 प्रतिकृया