आर्थिक सर्वेक्षण भन्छः अर्थतन्त्र धरासायी भयाे (पूर्णपाठ सहित)
एक्सन खबर
काठमाडौं, १४ जेठ । आर्थिक सर्वेक्षणले देशको अर्थतन्त्र कमजाेर मात्र हैन धरासायी हुँदै गएकाे देखाएको छ । उत्पादकत्व नबढ्दा आयातमा निर्भर हुँदा मुलुककाे अर्थतन्त्र कमजाेर भएकाे अर्थमन्त्री डा. प्रकाश शरण महतले जनाएका छन् ।
आइतबार संसदको दुवै सदनमा अर्थमन्त्री डा. महतले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको विस्तार न्यून रहने अनुमान गरेकाे छ । राजस्व असुलीमा आएको कमीको कारण स्रोत व्यवस्थापनमा कठिनाई थपिएकोले आर्थिक गतिविधिमा अपेक्षाकृत विस्तार हुन नसकेको डा. महतले बताएका छन् ।
यस्तै, संघ र प्रदेशको चुनाव तथा बढ्दै गएको अनिवार्य दायित्वबाट चालु खर्चमा भएको वृद्धि, निर्माण, थोक तथा खुद्रा व्यापार लगायत औद्योगिक उत्पादनमा आएको कमीका कारण नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र हुने अनुमान गरिएको छ ।
रुस/युक्रेन युद्धको कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले नेपालको समग्र मूल्यस्तर उच्च रहन गएको अर्थमन्त्रीकाे दावी छ । तीनै तहका सरकारको पुँजीगत खर्चमा आशातित वृद्धि हुन नसक्दा पुँजी निर्माण, रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिमा सुधार हुन नसकेकाे जनाइएकाे छ ।
यस्तै, वर्षे धानको उत्पादनमा भएको वृद्धिसँगै कृषि उत्पादनको वृद्धि सन्तोषजनक रहेपनि हिउँदे वर्षा समयमा नहुँदा हिउँदे वालीमा प्रतिकुल प्रभाव पर्न गएको, थोक तथा खुद्रा व्यापार, निर्माण र घरजग्गाको कारोबारमा आएको शिथिलतासँगै सम्पूर्ण आर्थिक गतिविधिमा कमी आएको हुनाले उद्योग तथा सेवा क्षेत्रको विस्तार कम हुने अनुमान छ ।
कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गएको, गैर कृषि क्षेत्रको योगदान बढ्दै गएको बताइएकाे छ । चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा सरकारी क्षेत्रको उपभोगको अनुपात घटेर पछिल्लो एक दशककै न्यून हुने अनुमान छ ।
हेर्नुहाेस् आर्थिक सर्वेक्षणकाे पूर्ण पाठ
0 प्रतिकृया