Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


एमाले बैठकः प्रदेश संरचना खारेजकाे प्रस्ताव, प्रत्यक्ष निर्वाचित सरकार प्रमुख

एक्सन खबर
बैशाख, २९, २०८०


एमाले बैठकः प्रदेश संरचना खारेजकाे प्रस्ताव, प्रत्यक्ष निर्वाचित सरकार प्रमुख

काठमाडौं, २९ वैशाख । संघीयता देशले धान्न सक्दैन भन्ने आवाजहरू उठिरहेकाे बेला नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव आएको छ । बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश संरचना खारेज गरेर जान उपयुक्त हुने दुई वटा प्रदेशबाटै प्रस्ताव आएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न सात प्रदेश र दुई गैरभौगोलिक गरी ९ समूह बनेकोमा उक्त समूहगत छलफलका क्रममा दुई समुहबाट प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव आएको पोलिटब्यूरो सदस्य विशाल भट्टराईले बताए ।

बागमती प्रदेशबाट केशव पाण्डे र सुदूरपश्चिम प्रदेशबाट दामोदर भण्डारीले आफ्नो समूहमा प्रदेश संरचना खारेजीको प्रस्ताव आएको प्रतिवेदन पेश गरेका छन् । बागमती प्रदेशको समूहगत छलफलमा नेताहरू महेश बस्नेत, गोकुल बास्कोटा र देवी ज्ञवालीले प्रदेश संरचना खारेजीको प्रस्ताव ल्याएका थिए ।

प्रदेशको आर्थिक मोडेल नभएकाे, संरचना नबनेकाे, सर्भिस डेलिभरीमा रोल नभएकाे र आर्थिक दृष्टिले समेत प्रदेश संरचना महंगो भएकाले प्रदेश खारेजी गर्नु उपयुक्त हुने भनिएकाे छ ।

यस्तै, शासकीय संरचना पनि बदल्नुपर्ने प्रस्ताव छ । प्रत्यक्ष निर्वाचित सरकार प्रमुखमा जानुपर्ने नेताहरूकाे धारणा छ । बागमतीका टोली नेता पाण्डेले केन्द्रीय कमिटीमा प्रदेश संरचना खारेजीको प्रस्ताव ल्याएका थिए ।

प्रदेश खारेज र प्रत्यक्ष निर्वाचित प्रणालीकाे प्रस्ताव सुदूरपश्चिमका टोली नेता भण्डारीले पनि राखेका छन् । सुदूरपश्चिम समूहबाट प्रदेश संरचना खारेजीको प्रस्ताव सर्वसहमत रुपमा गएकाे छ । साथै, जिल्ला समन्वय समिति (जिसस) खारेजीको प्रस्ताव पनि ल्याइएकाे छ ।

तीन तहको चुनाव भएर एक कार्यकाल सकाएर अर्को कार्यकालको सुरुवात भएका बेला एमालेमा प्रदेश संरचना खारेजीको प्रस्ताव आएको हो । मंसिर ४ गतेकाे निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशकाे निर्वाचनमा भाग लिएकाे थिएन । राप्रपा, जनमाेर्चा पनि संघीयता खारेजकाे पक्षमा छन् ।

एमाले बैठकमा समानुपातिक पद्दति पनि खारेजीकाे कुरा उठेकाे छ । समूह छलफलमा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित मात्रै आउने प्रस्ताव आएको छ । १६५ प्रतिनिधिसभामा ३३ प्रतिशत महिलाका लागि निर्वाचन प्रणालीमै ताेक्नुपर्ने प्रस्ताव छ । २७५ सदस्यीय प्रतिनिधिसभा घटाएर १६५ सदस्यीय बनाउने प्रस्ताव छ । समय अनुकुल समानुपातिक समावेशी प्रणाली राष्ट्रिय सभामा गर्न सकिने भनिएकाे छ ।

केन्द्रीय कमिटी बैठकमा निर्वाचन प्रणाली खर्चिलाे भएकाे भन्दै निर्वाचनमा दललाई राज्यले पैसा दिने र चन्दा उठाउन नपाउने व्यवस्था गर्न सकिने कुरा उठेकाे छ ।













0 प्रतिकृया