यौन दुर्व्यवहार मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर
एक्सन खबर
एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छन् । अमेरिकी लेखक इ. जिन क्यारलले ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार र मानहानी गरेको आरोप लगाउँदै दर्ता गरेकाे मुद्दामा म्यानहटन ज्यूरीले ट्रम्पलाई दोषी ठहर गरेको हो ।
उक्त मुद्दामा फैसला गर्दै मंगलबार म्यानहटन ज्यूरीले ट्रम्पलाई दोषी ठहर गरेको द न्युयोर्क टाइम्सले जनाएकाे छ । ट्रम्पविरूद्ध लगाएको बलात्कारको आरोप भने ज्युरीले खारेज गरिदिएको छ ।
ज्युरीले यौन दुर्व्यवहार र मानहानीमा दोषी ठहर भएपछि पीडितलाई पाँच मिलियन डलर क्षतिपूर्ति दिन आदेश गरेको छ । क्यारोललगायत दर्जनौं महिलाहरूले ट्रम्पविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर गरेका छन् ।
ट्रम्पले आफूमाथि लगाइएको यौन दुर्व्यवहारको आरोप लगातार खण्डन गर्दै आइरहेका थिए । सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका ट्रम्पलाई यो निर्णयले धक्का लाग्न सक्ने बताइएकाे छ ।
आगामी राष्ट्रपति निर्वाचनलाई लिएर ट्रम्पविरोधी अभियानअन्तर्गत यो फैसला आएको बताउँदै ज्युरीको आदेशविरुद्ध अपिल गर्ने ट्रम्पकाे सचिवालयले जनाएको छ ।
0 प्रतिकृया