नक्कली भुटानी शरणार्थी प्रकरणः रायमाझीका छाेरालाई अदालतमा पेश गरिँदै
एक्सन खबर
काठमाडाैं, २१ बैशाख । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका तत्कालिन उर्जामन्त्री टाेपबहादुर रायमाझीका छाेरा सन्दीप रायमाझीलाई आज अदालतमा पेश गरिँदैछ ।
सन्दीपलाई नेपाल प्रहरीले बुधबार साँझ बुटवलबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीमाथि अनुसन्धानको लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पेस गर्न लागिएको हो । सन्दीपलाई बुद्ध एयरको विमानमार्फत् काठमाडौं पठाउन विमानस्थल पठाइएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्याम अर्यालले जानकारी दिए ।
बुटवलबाट पक्राउ परेका उनलाई गएराति भैरहवा हिरासतमा राखिएको थियाे । प्रहरीले नेकपा एमालेका सचिव समेत रहेका पूर्वमन्त्री टाेपबहादुर रायमाझीलाई पनि पक्राउ पुर्जी जारी गरेकाे छ । टोपबहादुर भने पक्राउ परेका छैनन् । उनकाे माेवाइल अफ रहेकाे छ ।
नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ८ जना पक्राउ परिसकेका छन् । सन्दीप पक्राउ पर्नु अगाडि बुधबारै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका थिए ।
पाण्डेकै प्रारम्भिक बयानका आधारमा रायमाझी बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ ।
मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि पक्राउ परेका थिए । प्रहरीका अनुसार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौं रुपैयाँ असुल गर्दै आएको गिरोहको मुख्य योजनाकारमध्ये राई पनि हुन् ।
गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको थियो । उनीहरूले बयानमा राईलाई याेजनाकार बताएका थिए ।
प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईका छोरा निरजको नाम पनि जोडिएको छ । उनीहरु फरार छन् । प्रहरीले सबैकाे खाेजी गरिरहेकाे छ ।
0 प्रतिकृया