Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


सत्य निरुपण सम्बन्धी ऐन संशोधन विधेयक संसदमा दर्ता गर्ने निर्णय

एक्सन खबर
फागुन, २५, २०७९


सत्य निरुपण सम्बन्धी ऐन संशोधन विधेयक संसदमा दर्ता गर्ने निर्णय

काठमाडौं, २५ फागुन । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरिएकाे छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको अघिल्लो कार्यकालमा दफावार छलफल भएर पनि पारित हुन नसकेको विधेयक पुनः संसदमा दर्ता गर्ने निर्णय गरेकाे हाे ।

तत्कालीन कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले ३१ असार २०७९ मा प्रतिनिधिसभामा दर्ता गरेको विधेयकमा द्वन्द्वकालीन मुद्दा हेर्न गठन हुने ३ सदस्यीय विशेष अदालतको फैसला अन्तिम हुने उल्लेख भएकाेमा नेकपा एमाले, द्वन्द्वपीडित, राष्ट्रिय मानवअधिकार आयोगले विरोध जनाएका थिए ।

संसदमा दफावार छलफल भइसकेको विधेयक पुनः संसदीय समितिमा फिर्ता पठाइएकोमा अलपत्र अवस्थामा थियो । जनयुद्धमा मृत्यु भएका ५ हजारकाे जिम्मा लिने अभिव्यक्ति दिएर विवादमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दाको आज पहिलो सुनवाइ हुने अवस्थामा मन्त्रिपरिषदले विधेयक पुनः संसदमा दर्ता गर्ने निर्णय गरेकाे हाे ।

मन्त्रिपरिषद बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय पनि गरेको छ ।

जीवनाशक विषादीको परीक्षणसम्बन्धी प्रस्ताव नेपाल राजपत्रमा प्रकाशन गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भदौ १५ गते मन्त्रिपरिषदमा पेश गरेको र भदौ २१ गते मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाइए पनि त्यसपछि अगाडि बढ्न सकेको थिएन ।













0 प्रतिकृया